सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर नाका पुगेका पञ्चेश्वरका करिब ५ सय जनालाई चन्दद्वारा खाजा सहयोग

२०७७ जेठ १५, ०७:५८ खबर संवाददाता

धनगढी : लकडाउनका कारण भारतमा अलपत्र नेपालीको उद्धारमा बैतडीका ईश्वरबहादुर चन्द सिमामा खटिएका छन्। पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ निगंलाड घर भएका चन्द जेठ ७ गतेदेखि अलपत्र परेका पञ्चेश्वरवासीको उद्धारमा जुटेका हुन।

त्रिनगर नाकाबाट भित्रिरहेकाहरुलाई आफुले सक्दो सहयोग गरिरहेको उनले बताए। अहिलेसम्म मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका करिब ५ सय जनालाई ५० हजार बराबरको पानी, चाउचाउ, बिस्कुट लगायतका खानेकुरा सहयोग गरेको उनले बताए।

रोजगारीको शिलसिलामा ५ वर्ष कोरियामा  बसेर फर्किएका चन्दले यस्तो समयमा बाटोमा सास्ती भोगेका बालबालिकाहरुले २÷३ दिनसम्म खाना नपाएको भन्दै सहयोग गरेको बताए। ‘यस्तो समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा खुसी छु र अरुबाट पनि यही अपेक्षा राखेको छु’ उनले भने। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी बस्दै आएका चन्दले यसअघि सुरक्षामा खटिएका प्रहरीहरुलाई खानेपानी र खाजा सहयोग गरेको र टोलहरुमा किटनाशक औषधि छर्केको बताए। साथै उनले रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुले गाउँमै केही गर्ने सोच बनाएको हुँदा उनीहरुका लागि स्थानीय तहरुले आत्मनिर्भर र मनोबल बढाउने खालका कार्यक्रम ल्याउन अनुरोध गरेका छन्। 

हालसम्म बैतडीको पञ्चेश्वर गाउँपालिकाका ५ सय बढीको उद्धार गरिएको छ भने अझै आउने क्रम जारी छ।

कमेन्ट लोड गर्नुस