सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६ वर्षमै १० गाडी चोरी गरेका युवक धनगढीबाट पक्राउ

२०७७ जेठ ९, ०२:५९ खबर संवाददाता

धनगढी : धनगढीमा चोरीका दुईवटा कार सहित पक्राउ परेका १६ वर्षीय युवक सवारीसाधन चोरीका नाईके भएको खुलेको छ। कैलाली प्रहरीले धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बाट चोरी भएका दुईवटा कार सहित पक्राउ गरेका दाङको तुल्सीपुर नगरपालिकाका १६ वर्षीय नबिन सार्की सवारीसाधन चोरीका नाईके भएको खुलेको हो।

सार्की यसअघि पनि पटक पटक सवारीसाधन चोरीमा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। बस्नेतका अनुसार पछिल्लो पटक धनगढी ४ का राजेन्द्र बहादुर मल्लको घर अगाडी सडकमा पार्किङ गरी राखेको अवस्थामा बा.८ च.२१०० नम्बरको कार र  रबिन्द्रदेव भट्टको डेरा कोठा भएको घरको आगनमा राखेको होन्डाई कम्पनीको बा. १४ च. ४७८१ नम्बरको गाडी चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।

तर उनले यसअघि काठमाडौँ सहित देशका विभिन्न जिल्लामा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन चोरी गरेको खुलेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। कैलाली प्रहरीका अनुसार अहिले सम्म प्राप्त विवरणलाई हेर्दा सार्कीले १० स्थानबाट सवारीसाधन चोरी गरेको देखिन्छ।

महानगरीय प्रहरी वृत महाराजगंज काठमाण्डौमा उनी र समिरनाथ योगी विरुद्ध रमन रेग्मीले पार्किङ गरी राखेको  बा ७१ प ७६३८ नम्बरको गार र नोलो रंगको क्रस फायर मोटरसाईकल चोरीको मुद्दा दर्ता गरेको देखिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

यस्तै गत वर्ष भदौँमा दाङबाट घरमा पार्किङ गरी राखेको लु १ च २६०३ नम्बरको सुजुकी कार, गत वर्ष साउनमै  दाङको  तुल्सीपुर उपमहानगरपालीका वडा नम्बर ५ बसपार्कमा जिवेश नाथ योगीले पसलको बराण्डामा पार्किङ गरी राखेको रा ३ प ९३४९ नम्बरको मोटरसाईकल चोरी समेत सार्कीले गरेको देखिएको कैलाली प्रहरीले जनाएको छ।

यसैगरी गत वर्ष भदौँमै सल्यान लुहामका सन्तोष रेग्मीको दुई सय २० सिसिको पल्सर मोटरसाईकल, धनगढी उपमहानगरपालिका  वडा ४ राजपुरमा पल्सर मोटरसाईकल र स्पेलेन्डर मोटर साईकल, धनगढी १ को शिवनगरमा ग्यारेजबाट स्पेलेन्डर मोटरसाईकल चोरीमा समेत उनको संलग्नता रहेको प्रवक्ता प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

पटक पटक चोरी संलग्न हुँदै आएका सार्की पक्राउ गरी मुद्दा समेत चलाउँदै आएपनि नाबालक भएकाले बाल सुधार गृहमा राखिदै आएको थियो। सुधार गृहबाट छुटेपछि पनि उनी चोरीमा संलग्न हुदै आएको प्रहरीले जनाएको छ। अहिले जिल्ला प्रहरी कार्यालय कैलालीले सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस