सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किने मजदुरको व्यवस्थापनमा चुनौती, सुदूरपश्चिम सरकार ढुक्क

२०७७ जेठ ४, ०७:२९ कमल सावद

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्किने लाखौँ प्रदेशवासीको व्यवस्थापनका लागि अझै योजना बनाउन सकेको छैन्। भारतमा ज्यालादारी गर्दैआएका लाखौँ प्रदेशवासी फर्किने तयारीमा रहेका बेला प्रदेश सरकारले भने उनीहरुको व्यवस्थापनका लागि कुनै पनि योजना ल्याएको छैन। 

उद्दार, राहत तथा कोरोना परीक्षणका लागि पहल गर्नुपर्ने भन्दै विभिन्न आवाज आइरहेका बेला मजदुरहरुको हकमा कुनै ठोस योजना नबनाइएकाले अहिले चौतर्फी रुपमा प्रदेश सरकारको आलोचना भएको छ। स्वदेश प्रवेशको आशामा गौरीफन्टा आएका गोदावरी नगरपालिका वडा नम्बर ४ बन्दागडाका भीम साउँदले भातरीय सीमा सुरक्षा बल (एसएसबि) को ज्यादती सहनु परेको गुनासो गरे।

‘भारतमा रहेका नेपालीलाई स्वदेश प्रवेशको अनुमति दिएको खवर पाएपछि हामीहरु पनि आएका हौँ। तर भारतीय प्रहरीले प्रवेश गर्न दिएन्। हामीलाई सीमामा रोकेको छ। भारतका विभिन्न ठाउँबाट काम बन्द भएपछि हामीहरु फर्किएका हौँ। सरकारले स्वदेश प्रवेश गर्न नै दिएन्’ उनले गुनासो गरे। 

सीमावर्ती भारतीय क्वारेन्टाइनमा राखिएकाहरुलाई शुक्रबार र शनिबार स्वदेश फिर्ता हुन अनुमति दिएसंगै भारतबाट ठुलो संख्यामा नेपालीहरु स्वदेश फिर्ताको तयारीमा छन्। भारतका महाराष्ट्र लगायतका क्षेत्रबाट बसमा सुदूरपश्चिमेलीहरु सीमा नाकामा जम्मा हुँदैछन्। तर प्रदेश सरकार अन्तराष्ट्रिय सीमा नाका बन्द रहेको भन्दै ढुक्क छ। 

आइतबार पनि धनगढीसंग सीमाना जोडिएको गौरीफन्टामा एक सय एक जना र महेन्द्रनगरसंग सीमाना जोडिएको गड्डाचौकीमा दुई सय बढि नेपालीहरु भारतबाट आएर बसेका छन्। ठुलो संख्यामा भारतबाट मजदुर नेपाल प्रवेशको तयारीमा रहेपनि अन्तरिक तयारी भने शुन्य जस्तै छ। उनीहरुको व्यवस्थापनमा वेवास्ता गरिएको छ। 

स्थानीय प्रसाशनसँग प्रदेश सरकार र स्थानीय तहहरुले भारतबाट आएकाहरुको व्यवस्थापनमा समन्वय गर्नुपर्ने हो। तर शुक्रबार र शनिबार भारतबाट स्वदेश प्रवेशको अनुमति दिएकाहरुको व्यवस्थापनमा पनि समन्वयको अभाव देखिएको छ। स्थानीय प्रसाशनले मात्र सम्पूर्ण व्यवस्थापनको काम गरेको थियो। क्वारेन्टाइनमा राखिएकाहरुले पनि खान नपाउने अवस्था आएको थियो। बसको सुविधा नहुँदा ट्रिपरमा मजदुहरुले यात्रा गर्नुपरेको थियो। 

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले स्थानीय तहहरुसँगको समन्वयमा भारतबाट आएका मजदुरलाई पठाइएको बताए। ‘समन्वयमा उनीहरुलाई पठाउदैछौ।’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘जाँदैछन अब, पहाडमा पनि गए। स्थानीय तहले पनि गरेका छन्। अरुले पनि सहयोग गरिराछन्, जाँदैछन्।’

स्थानीय तहसँग समन्वय गरिरहेकोे दावी
अन्तराष्ट्रिय सीमाबाट नेपाल प्रवेशको अनुमति आए उनीहरुको व्यवस्थापन तथा गन्तव्य र खानबस्नको आवश्यक हुन्छ। तर प्रदेश सरकारले सो विषयमा एकपटक सरोकारवालासँग छलफल समेत गरेको छैन्। तर सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादर शाहले स्थानीय प्रसाशनसँग समन्वय भएको दावी गरे। ‘प्रदेश सरकारले अन्य प्रदेशसंग समन्वय गर्दैछ’ प्रदेश सरकारका प्रवक्ता शाहले भने, ‘प्रदेशका पहाडी जिल्लाका स्थानीय प्रशासनलाई पत्र लेखेका छौ। आफ्नो क्षेत्रकालाई आफैले व्यवस्थापन गर्ने हो। संघीय सरकारसंग पनि समन्वय गर्दैछौ।’

तत्काल स्वदेश फिर्ता नहुँन प्रशासनको आग्रह
अन्तराष्ट्रिय सीमा नाका बन्द रहेकाले भारतमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता नहुँन स्थानीय प्रशासनले आग्रह गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले सीमानाका बन्द रहेकाले भारतमा नै बस्न प्रवासी नेपालीहरुलाई आग्रह गरेका छन्। सीमामा आएपनि सरकारले स्वदेश प्रवेशको अनुमति नदिएकाले दुःख पाइने उनले बताए। तर रोजगारी गुमाएर भारतमा लाखौँ मजदुर बिचल्लीमा परेकाले शिघ्र उद्दारको माग गरिएको छ।  
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस