दार्चुलाको छाङरु पुग्योे सशस्त्र प्रहरीको टोली
दार्चुला : कालापानी क्षेत्रको सीमा सुरक्षाका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ। बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरू दार्चुला सदरमुकाम खलङ्गाबाट हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको छ।
बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत सुरक्षा अधिकारीहरू, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी र सञ्चारकर्मी छाङरु गएका थिए।
गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णयअनुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो। नेपाल सरकारले बीओपी स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ। छाङरुमा भौतिक पुर्वाधार निर्माण भइनसकेकोले केही समयका लागि छाङरुबाट एक किलोमिटर वर गागामा स्थानीयको घर भाडामा लिएर सशस्त्र प्रहरी बसेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।
सशस्त्रसँगै सेनाको हेलिकोप्टरमा नेपाल प्रहरी पनि छाङरु गएको छ। सई हर्कसिह महताको नेतृत्वमा ९ जनाको प्रहरी टोली पनि छाङरु गएको प्रजिअ पौडेलले बताए।