सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हावाहुरीबाट क्षति भएका जाँचचौकी निर्माणमा सहयोग गर्ने

२०७७ वैशाख ३०, ०८:५७

आइतबार आएको हावाहुरीबाट कैलालीका सीमामा रहेका सशस्त्र प्रहरीको जाँचचौकीमा क्षति भएपछि धनगढी उपमहानगरपालिकाले सुरक्षाचौकी निर्माणमा सहयोग गर्ने भएको छ।

कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट आउने व्यक्तिलाई सीमाबाट भित्रिन नदिन स्थापना गरिएका अस्थायी र  स्थायी चौकीहरुमा हावाहुरीबाट क्षति भएपछि आफ्नो क्षेत्रमा पर्ने अस्थायी वा स्थायी जाँचचौकी निर्माणमा सहयोग गर्ने उपमहानगरपालिकाले जनाएको छ।

नगरप्रमुख नृपबहादुर वडले आवश्यकतानुसार उपमहानगरपालिका क्षेत्रमा पर्ने १३ वटै अस्थायी जाँचचौकी निर्माणका लागि बजेटको व्यवस्था गरिने बताए। “दशगजामा नै टेन्ट राखेर सशस्त्र प्रहरीले ड्युटी गरिराखेका छन”, नगरप्रमुख वडले भने, “सबै स्थानीय सरकारले आफ्नो क्षेत्रमा पर्ने अस्थायी वा स्थायी जाँचचौकी निर्माणमा सहयोग गरेमा राहत पुग्ने देखिन्छ।” प्रहरी उपरीक्षक कमलराज तिमिल्सिनाले विभिन्न समस्याका बीच पनि सीमामा आफूहरु खटिरहेको बताए।

एक सय एक किलोमिटर लामो दूरी भारतसँग जोडिएको कैलालीका सिमानामा ४२ अस्थायी चौकी र १२१ ड्युटी चौकीमा समेत गरी झण्डै ६०० सशस्त्र प्रहरी कार्यरत रहेको बताइएको छ। “अधिकांश ड्युटी चौकी पालमा रहेका छन्”, प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, “सीमा सुरक्षामा खटिएका प्रहरी हावाहुरी चल्न थालेपछि पाल जोगाउनतर्फ लाग्छन् बत्ती छैन, मोबाइल चार्ज गर्न पाइँदैन।” पानीको धारा नजिक नभएकाले पानी लिन पनि कतिपय चौकीबाट करिब चारदेखि सात किमी टाढा जानुपर्ने बाध्यतासमेत रहेको बताइएको छ। रासस
 

कमेन्ट लोड गर्नुस