नेपालमा हालसम्म झण्डै १८ हजारको कोरोना परीक्षण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको छ। कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १७ हजार ८०९ र आरडिटी ५८ हजार ५४६ व्यक्तिमा गर्न सफल भएको छ।
पछिल्लो २४ घण्टामा थप दुई हजार ७९९ को परीक्षण सम्पन्न गरेको छ। मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम गर्नका लागि परीक्षणलाई तीव्रता दिएको जानकारी दिए। आजसम्म आरडिटी परीक्षण प्रदेश नम्बर १ मा सात हजार ७३७, प्रदेश नं. २ मा पाँच हजार ९२७, वाग्मती प्रदेशमा नौ हजार २९०, गण्डकी प्रदेशमा छ हजार ४८५, प्रदेश नं. ५ मा छ हजार ९८५, कर्णाली प्रदेशमा सात हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार नौवटा परीक्षण भएको छ। हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन्। आइसोलेशनमा १५३ रहेका छन्।
कोरोना भाइरस सङ्क्रमित १२१ जना पुगेका छन्। तीमध्ये ३३ जना ठीक घर फर्किएका छन्। हालसम्म रेडजोनमा ३४२ रहेका छन्। यसैबीच, चीन सरकारले प्रतिबद्धता गरेको स्वास्थ्य सामग्रीमध्ये केही स्वास्थ्य सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ। ती स्वास्थ्य सामग्रीमध्ये ४० हजार थान पिसीआर टेष्ट किट, १० हजार डिपोजएल गाउन, एन ९५ मास्क २० हजार र सर्जिकल मास्क आठ हजार र मेडिकल चस्मा १० हजार मन्त्रालयलाई हस्तान्तरण भएको छ। -रासस