सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा घरेलु उत्पादनले बजार नपाउँदा समस्या

२०७७ वैशाख २४, ०३:०४

विमल विष्ट, डोटी : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण जिल्लाका घरेलु उत्पादित वस्तु (डोको, डालो, नाङ्लो आदि) बाट गुजारा चलाउँदै आएका व्यक्तिहरु मारमा परेका छन्।

लकडाउने आवतजावतमा कडाइ भएसँगै स–साना घरेलु सामग्री उत्पादक गाउँलेले बिक्री गरेर केही आम्दानी गर्न पाएका छैनन्। जसका कारण यहाँका स्थानीयवासीको आम्दानीको स्रोत नै बन्द हुन पुगेको छ। आफूले उत्पादन गरेका घरेलु सामग्री बिक्री नहुँदा अहिले हातमुख जोर्नसमेत समस्या पर्न थालेको केआइसिंह गाउँपालिका–४ का स्थानीय जहरसिंह खवासले बताए। उनले भने “घरेलु सामग्री उत्पादन गरेर जीविकोपार्जन गर्दै आएकाहरु लकडाउनले निकै समस्यामा परेका छन, सामग्री बिक्री नभएकाले घरखर्च चलाउने दुई चार पैसा कमाउन पनि मुस्किल हुन थालेको छ।”

यहाँका गाउँघरमा यतिखेर गहुँ, जौलगायत विभिन्न खाद्यान्न बाली भित्र्याउने बेला हो। बाली भित्र्याउनका लागि बाँस तथा निगालोबाट निर्माण गरिएका यी सामग्री आवश्यक पर्छ। तर गाउँलेले उत्पादन गरेका भए पनि बिक्री गर्न पाएका छैनन्। बिक्री गर्न नपाउँदा आफूहरुलाई निकै समस्या भएको केआइसिंह गाउँपालिका–६ का अर्का घरेलु सामग्री उत्पादक हरि दमाईंले बताए। उनले भने, “अन्नपात राख्न तथा मलखाद बोक्नका लागि चाहिने विभिन्न डोको, डालो, सुप्पा, चाल्लाहरु बनाएका थियौँ, लकडाउनले बिक्री गर्न नै पाएनौँ, निकै समस्या भएको छ।” 

त्यसैगरी निगालोको डोको डालो बुनेर छिमेकी गाउँलगायत सदरमुकाम सिलगढीसम्म पु¥याएर बिक्री गर्दै आउनुभएका डोटीको दिपायल सिलगढी नगरपालिका–९ मुछेन्तोला गाउँका तुलाराम साउदको दिनचर्या पनि लकडाउनका कारण हिजोआज बदलिएको छ। खेतीबारीको काम नभएको खाली समयमा डोको, डालोलगायतका घरेलु सामग्री बुन्ने कार्य गर्दै आएका साउदले पछिल्लो समयमा भएको लकडाउनका कारण सामग्री बिक्री वितरण हुन छाडेपछि खेतबारीको काम र गाईभैँसी चराउनमै दिन बित्न थालेको बताए।

सरकारीस्तरबाट कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्नका लागि लकडाउनको घोषणा गरिएसँगै जिल्लाभरका घरेलु वस्तु उत्पादन गरेर गुजारा गर्दै आएका व्यक्ति निकै मारमा परेको जोरायल गाउँपालिका–१ का वडा सदस्य लपेश मल्लले बताए। उनले भने, “लकडाउनले घरेलु उत्पादन बिक्री नभएपछि उत्पादकलाई समस्या भएको छ, घरेलु उत्पादन भएका वस्तु बजारमा नआउँदा ग्राहकलाई समेत समस्या परेको छ, लकडाउनले उत्पादन गर्ने र उपभोग गर्ने दुवै पक्ष मारमा छन्।” 

जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेग गाउँका तुलाराम नेपालीले आफूले उत्पादन गरेका वस्तु बिक्री गर्न नपाउँदा चामल किन्नसमेत पैसा नभएको गुनासो गरे। उनले भने “डोको डालो बुनेर घरखर्च चलाउँदै आएका थियौँ, लकडाउनले बिक्री गर्न नपाउँदा बिहान बेलुका हातमुख जोड्नै मुस्किल छ, बुनेका डोको डालो घरैमा थन्काएको छु।” 

आफूले उत्पादन गरेका वस्तु बिक्री वितरण नभएपछि घरायसी खर्चका लागि ऋण लिनुपर्ने अवस्था आएको डोटीको जोरायल गाउँपालिक–५ का स्थानीय दले सार्कीले बताए। जिल्लामा व्यावसायिकरुपमा भन्दा सामान्य घरखर्च र नुनतेल, खाद्यान्नको जोहो गर्नका लागि घरेलु सामग्री डोको डालो बुन्नेहरु ग्रामीण क्षेत्रमा धेरै व्यक्ति रहेका छन्। यस्ता कार्यमा संलग्न व्यक्ति धेरै भए पनि जिल्लामा कतिजना छन् भन्ने यकिन तथ्याङ्क भने पाइँदैन। 

घरेलु सामग्री उत्पादन गर्ने व्यक्तिका लागि भनेर छुट्टै राहतको प्याकेज घोषणा गरिएको नभए पनि विपन्न व्यक्ति र दैनिक ज्यालादारीमा कामकाज गर्न नसक्दा प्रभावित भएका व्यक्तिका लागि राहत दिने व्यवस्था मिलाइएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए। उनले भने,  “दैनिक कामकाज बन्द भएर हातमुख जोर्न समस्या भएकाहरुका लागि राहत दिने भन्ने प्रावधान छ, हामीले घरेलु उत्पादन गरेर बिक्री गर्न नपाएर समस्यामा परेका व्यक्तिलाई पनि राहतको व्यवस्था मिलाउने निर्णय गरेका छौँ, उनीहरुलाई पनि राहत दिइनेछ।” 

राहत वितरण कार्यमा यहाँका विभिन्न स्थानीय तहमा सहकारी संस्थासमेत सक्रिय रहेका भए पनि उत्पादन गरेर खाने व्यक्तिलाई खासै चासो नदिएको उनीहरुको गुनासो रहेको छ।  स्थानीयस्तरमा सक्रिय सहकारीहरुले उत्पादित सामग्रीको खरिद गरेर भण्डारण गर्ने र अवस्था अनुकूल भएको समयमा बिक्री वितरण गर्नसके पनि घरेलु उत्पादनमा संलग्न व्यक्तिलाई राहत हुने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनले भने, “अहिले घरेलु उत्पादक वस्तु बिक्री नभए पनि सहकारीले किनेर राख्ने र अनुकूल समयमा बिक्री गर्दा सबैलाई फाइदा नै हुने र उत्पादन गर्ने व्यक्तिको पनि छाक टार्ने भएकाले त्यसो गर्दा राम्रो हुनेछ।”

त्यसैगरी लकडाउनकै कारण यहाँका किसानले उत्पादन गरेका तरकारीसमेत बारीमै कुहिन थालेका छन्। आफूले उत्पादन गरेका तरकारी बिक्री गर्न नपाउँदा किसान मर्कामा परेका छन्। समयमै तरकारी ढुवानी गर्न नसक्दा दिपायल सिलगढी पालिका–५ का किसान बहादुरे कोलीले झण्डै ५० हजारबराबरको फर्सी, काउली, भण्टा, सिमीलगायत तरकारी बारीमै कुहिएको छ। लकडाउनका कारण बजार बन्द भएपछि तरकारी बिक्री नभएको उनले दुखेसा गरे। उनले भने, “बारीभरि तरकारी छ, बिक्री गर्ने ठाउँ छैन, मन दुखाएर भए पनि मेहनत गरेको तरकारी बारीमै कुहाउन बाध्य छौँ।” 

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव डोटीका तरकारी उत्पादन गर्ने किसानमा परेको छ। तरकारी उत्पादन क्षेत्रमा ठूला ट्रक लिएर नियमित तरकारी लिन आउने व्यापारी नै लकडाउनमा परेपछि किसानले गाउँबस्तीबाटै बजारसम्म तरकारी पठाउन सकेका छैनन्। –रासस
 

कमेन्ट लोड गर्नुस