बेलायतमा कोरोनाभाइरसविरुद्ध नयाँ औषधीको प्रयोग सुरु
कोभिड–१९ को उपचारको लागि बेलायतका वैज्ञानिकहरुले विकास गरेको एउटा नयाँ औषधीलाई साउथह्याम्पटन युनिभर्सिटी अस्पतालमा परीक्षण गर्न थालिएको छ। बेलायतको बायो टेक कम्पनी सिनरजेनले विकास गरेको औषधीमा इन्टरफेरोन बेटा नामक प्रोटिन प्रयोग गरिएको छ जसलाई हाम्रो शरीरले भाइरसको संक्रमण भएको बेला निर्माण गर्दछ।
परीक्षणको शुरुवाती नतिजा जुन महिनाको अन्त्यसम्म आउने बताइएको छ। कोरानाभाइरसको उपचार पत्ता नलागिसकेको अवस्था अहिले डाक्टरहरु बिरामीको प्रतिरोधात्मक क्षमतामा नै भर परिरहेका छन्।
के हो नयाँ औषधी ?
इन्टरफेरोन बेटा कुनै पनि भाइरसविरुद्ध हाम्रो शरीरको पहिलो रक्षात्मक प्रणाली रहेको र यसले शरीरलाई भाइरसको आक्रमणबारे जानकारी दिने सिनरजेनका प्रमुख कार्यकारी अधिकृत रिचार्ड मार्सडेन बताउँछन्। उनका अनुसार कोरोनाभाइरसले हाम्रो शरीरको प्रतिरोधात्मक क्षमतालाई छल्नका लागि यसैको निर्माणलाई रोक्ने गरेको पाइएको छ।
औषधी यही इन्टरफेरोन बेटाको विशेष फर्मुलेसन हो जसलाई भाइरस भएको हाम्रो शरीरको भागमा सिधै पठाइन्छ । यसरी प्राटिनको सिधै डोज दिँदा प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीको शरीरले भाइरसविरुद्ध कडा प्रतिक्रिया जनाउने अपेक्षा गरिएको छ। स्क्लेरोसिसको उपचारका लागि पनि इन्टरफेरान बेटाको प्रयोग गरिन्छ। दम र अन्य फोक्सोको समस्या भएका बिरामीमा यसले शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने पहिले नै देखिएको छ।
तर, यसले कोभिड–१९ का बिरामीमा काम गर्छ कि गर्दैन भनेर लामो क्लिनिकल परीक्षण गर्नुपर्ने हुन्छ। हाल यो औषधी ७५ जना बिरामीमा परीक्षण गरिदैछ। उनीहरुमा नेबुलाइजरको माध्यमबाट औषधीलाई सुध्न लगाएर सिधै फोक्सोसम्म पुर्याइन्छ। यो औषधीबाहेक अमेरिकी कम्पनीले निर्माण गरेको रेम्डेसिभिर नामक औषधीले कोरोनाभाइरसको उपचारमा केही आशा जगाएको छ। एजेन्सी