सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय क्वारेन्टाइनबाट बैतडी फर्केका नेपाली हर्षित

२०७७ वैशाख २२, ०७:४८

विनोदसिंह विष्ट, बैतडी : एक महिना बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु खुसी भएका छन्।

कोरोनाको त्रासकाबीच जन्मभूमिमा आउन पाउँदा निकै खुसी लागेको बैतडी पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए। विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा आफूहरु हर्षित भएको उनको भनाइ थियो। उनले भने, “विपत्तिको बेला स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको छ।” भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौँ नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो। 

स्वदेश फर्कन पाउँदा खुसी लागेको डिलाशैनी गाउँपालिका–६ रमेशराम ओडले बताए। मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुसी लागेको र आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उनले धन्यवाद  व्यक्त गरेका छन्। बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले भने “विदेशीभूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो छ।”

झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन्  झुलाघाट नाकाबाट बैतडीका ७९० जना फर्किएका थिए। झुलाघाट नाका पारी गत चैत १५ गतेदेखि नेपाली मजदूर बसेका थिए। 

क्वारेन्टाइन अनुगमनमा तीव्रता 
सीमावर्ती भारतीय क्षेत्रबाट नेपाली स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ। गत बिहीबार भारतबाट फर्केका नागरिक क्वारेन्टाइनमा बसिरहेकाले त्यसको अवस्थाका बारेमा जानकारी लिनका सबै ठाउँमा अनुगमन गर्न थालिएको हो।

अहिलेसम्म सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। उनले भने “क्वारेन्टाइन कार्य्विधिअनुसार पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका र अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ।”  

दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्नुपर्ने देखिएकाले समितिले सुधार गर्न निर्देशन दिएको छ भने अन्य पालिकाका क्वारेन्टाइन राम्रा रहेको बताइएको छ। गत बिहीबार सीमा नाका झुलाघाट हुँदै एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए। -रासस

कमेन्ट लोड गर्नुस