कैलालीमा कृत्रिम अभाव सिर्जना गरी उपभोग्य वस्तु महङ्गोमा बिक्रि
धनगढी : कैलालीमा कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न जारी लकडाउनपछि दैनिक उपभोग्यका वस्तुको कृत्रिम अभाव सिर्जना गरी महङ्गोमा बिक्रि वितरण भईरहेको गुनासो बढ्दै गएको छ। जिल्लामा बजार अनुगमन गर्ने संयन्त्रले सक्रियता नबढाएपछि कृत्रिम अभाव सिर्जना गर्दै महङ्गोमा दैनिक उपभोग्यका सामान उपभोक्तालाई बिक्रि वितरण गर्ने क्रम बढ्दै गएको गुनासो गरिएको हो।
खासगरी ग्रामीण क्षेत्रका पसल सञ्चालकहरुले कृत्रिम अभाव देखाउँदै दैनिक उपभोग्यका समाग्री आफूखुसी बिक्रि वितरण गर्ने क्रम बढेको गुनासो उपभोक्ताहरुले गरेका छन्। तर संयुक्त बजार अनुगमनको जिम्मा पाएको निकायले भने दायरा बढाउन नसकेको गुनासो उनीहरुको छ। धनगढीका स्थानिय प्रमोद सिहले समान्य समयको भन्दा दैनिक उपभोग्यका वस्तुको मूल्य बृद्धि गरी बिक्रि वितरण गर्ने क्रम बढेको बताए।
तर अनुगमन नहुँदा व्यवसायीहरुको मनोमानी बढेको उनले गुनासो गरे। लकडाउनपछि संयुक्त बजार अनुगमन समितिले धनगढी, अत्तरिया क्षेत्रका किराना पसल, औषधी पसल, एलपी ग्यास लगायत अत्यावश्यक उपभोग्य वस्तुको कारोवार गर्ने २५ पसलमा अनुगमन गरीएको जनाएको छ। सो क्रममा गुणस्तरहीन एवंम निर्धारित मूल्य भन्दा बढिमा विक्रि गर्ने पाँच जना पसल सञ्चालकलाई जरिवाना गराईएको छ।
तर अधिकाशंको हकमा स–साना कमीकमजोरी देखिएपनि पहिलो पटक सम्झाईबुझाई छोड्ने गरिएकाले कारवाही भएको संख्या कम देखिएको दावी गरिदै आएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कमल पुन मगरले अनुगमनका क्रममा अनुचित रुपमा कारोवार गरेकाहरुलाई कानूनी कारवाही गर्ने काम भईरहेको बताए।
उनले किराना पसल, खाद्यान्न पसल, ग्यास पसलमा अनुगमन बढाईएको जनाए। जिल्लामा संयुक्त बजार अनुगमन समितिले सक्रियता नबढाउँदा लकडाउनको समयमा निर्धारित मूल्य भन्दा बढि लिएर गुणस्तरहीन वस्तुको कारोबार बढेको गुनासो उपभोक्ताहरुको छ। उपभोक्ताका गुनासाको आधारमा मात्र अनुगमन गर्ने तर पहिलो पटकलाई भन्दै सम्झाई बुझाई गरी छोड्ने प्रवृत्तीले पनि लकडाउनको समयमा बजारमा गुणस्तरहीन वस्तुको कारोवार भईरहेको आशंका बढ्न थालेको छ।
तर कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने लकडाउनमा समेत निरन्तर रुपमा बजार अनुगमन भईरहेको दावी गरे। बजारमा सामानको कृत्रिम अभाव सिर्जना गरी कारोवार गरेको भेटिएमा त्यस्ता व्यवसायीलाई कारवाहीको दायरामा ल्याईने उनले बताए।
अहिले स्थानीय तहहले सम्बन्धीत क्षेत्रमा बजार अनुगमन गर्ने जिम्मा पाएका भएपनि जनप्रतिनिधिहरु समेत मौन बस्दा मनलाग्दी झनै मौलाएको गुनासो गरिदै आएको छ। लकडाउनको समयमा दैनिक उपभोग्यका अत्यावश्यक समाग्री बाहेकको कारोवार समेत उतिकै बढेकाले कोरोनाको जोखिम पनि हुने देखिएको छ।