कैलाली र कञ्चनपुरका सीमापारी अलपत्र नेपालीलाई ल्याउन गृहले अझै दिएन अनुमती
धनगढी: कैलाली र कञ्चनपुरका सीमापारी अलपत्र नेपालीलाई ल्याउन गृह मन्त्रालयले अझै अनुमती दिएको छैन्। बैतडी र दार्चुलाको सीमापारी रहेकाहरुलाई एक महिनापछि उद्दार गरिएपनि उनीहरुको भने उद्दार हुन नसकेको हो।
४१ दिनदेखि कैलालीसँग सीमा जोडिएको पलिया र कञ्चनपुरसँग जोडिएको बनबासामा राखिएकाहरुलाई स्वदेश फर्काउन गृह मन्त्रालयले अनुमती नदिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृह मन्त्रालयबाट आदेश नआएकाले सीमा पारी राखिएकाहरुलाई ल्याउन नसकिएको बताए।
उनले मन्त्रालयको आदेश कुरिरहेकाले आउने बितिकै उनीहरुलाई ल्याईने बताए। पलियामा कैलाली सहित विभिन्न जिल्लाका एक सय २४ जना रोकिएका छन्। पलियामा कैलालीका ६९ जना, सुर्खेत, बैतडी, डडेल्धुरा, कञ्चनपुर लगायत जिल्लाका मजदुर रोकिएका छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत सीमा पारी रोकिएका नेपालीलाई ल्याउन अनुमती प्राप्त नभएको जनाएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भारतको वनबासा, खटिमा लगायतका क्वारेन्टाईनमा दुई सय ५१ जनालाई राखिएको बताए।
तर गृह मन्त्रालयबाट उनीहरुलाई ल्याउन कुनै परिपत्र नआएको जिल प्रशासन कार्यालयले जनाएको छ।