सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ६ दिनको अवधीमा १२ सय भित्रिए, क्वारेन्टाइनमा बसाल्न जनप्रतिनिधि असफल

२०७७ वैशाख १७, ०६:३७ खबर संवाददाता

प्रताप ओली, बझाङ : बझाङमा ६ दिनको अवधीमा जिल्ला बाहिरबाट १२ सय भित्रिएका छन्। स्थानीय सरकार तथा विभिन्न व्यक्तिको पहलमा उनीहरु बझाङ भित्रिएका हुन्।

काठमाडौं, धनगढी लगायतका शहरमा पढाई तथा रोजगारीको शिलशिलामा रहेकाहरु वैशाख १२ गतेबाट विभिन्न यातायातका साधनमार्फत जिल्ला भित्रिन सुरु गरेका थिए। जिल्ला प्रशासनको तथ्यांकअनुसार १२ गते २३ जना, १३ गते ९८ जना, १४ गते २ सय ४३  जना, १५ गते २ सय ३६ जना, १६ गते ३ सय ७३ जना र १७ गते २ सय २७ जना गरी जम्मा १२ सय जना भित्रिएका हुन्। 

जिल्ला भित्रिएका मध्ये १ सय ८६ जना मात्रै क्वारेन्टाइनमा बसेको प्रशासनले जनाएको छ। हाल वित्थडचिर गाउँपालिकामा १२ जना, बुंगल नगरपालिकामा १८ जना, छबिसपाथिभेरा गाउँपालिकामा ४६ जना, ७२ जना, साइपाल गाउँपालिकामा ९ जना र मष्टा गाउँपालिकामा ३१ जना क्वारेन्टाइनमा रहेका छन्। 

हाल थलारा गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका, केदारस्युँ गाउँपालिका र दुर्गाथली गाउँपालिकाले बाहिरबाट आएका एक जनालाई पनि क्वारेन्टाइन राख्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। 

जनप्रतिनिधि पनि सक्रिय नभएको र धेरैले घरमै गएर एकान्तबासमा बस्ने भनेपछि  छोडिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी गणेश बमले बताए। बाहिरी जिल्लाबाट आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने भन्ने निर्णय तपाईहरुको थियो नि किन क्वारेन्टाइनमा राख्न्नुभएन त भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘जिल्ला विपद व्यवस्थापन समितिले यो निर्णय गरेको छ। हामीले अनुरोध मात्र गर्ने हो। कार्यान्वायन गर्ने नगर्ने त जनप्रतिनिधि हुन्। मैले पनि सुने आएकाहरुले क्वारेन्टाइनमा बस्न नमानेपछि घर एकान्तबासमा बस्ने सहमतिमा छोडिएको छ। कतिपयले आरडिटी परिक्षण गरिएकाले सुरक्षित रहेका बताए।’ 

सघ, प्रदेश र स्थानीय तह अन्तर्गतका जनप्रतिनिधिहरुले अलपत्र परेका यात्रुको उद्धारका नाममा लकडाउन उल्लंघन गरेको भन्दै त्यसलाई रोक्न प्रशासनले सोमबारदेखि मानिस ओसारपसारमा बन्देज लगाएको छ।

प्रहरी र स्थानीय प्रशासनसँग समन्वय नै नगरी जनप्रतिनिधिहरुले आफूखुसी सवारी पठाएर मानिस ओसारपसार गर्न थालेपछि गृह मन्त्रालयले त्यसलाई नियन्त्रण गर्न आइतबार देशभरका प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएको थियो। 

प्रशासनसँग समन्वय नै नगरी शनिबार विराटनगर महानगपालिकाले उपत्यका आउन यात्रु पठाएपछि गृह मन्त्रालयले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बिहान विशेष निर्देशन दिँदै थानकोटबाट प्रवेश रोक्न भनेको थियो।

गृह मन्त्रालयले लकडाउन अवधिभर एक जिल्लाबाट अर्को जिल्लामा यात्रु ओसारपसार गर्न पूर्ण रुपमा बन्द गरिएको बताएको छ। गृहले विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकको उद्धारका लागि स्थानीय तह र जनप्रतिनिधिको समन्वयमा सञ्चालन भएका सवारी साधन गुडाउन पनि रोक लगाएको हो। 

कमेन्ट लोड गर्नुस