धनगढीको एरिष्टोद्वारा अनलाइन मिटिङ्ग, अनलाइन कक्षाको निर्णय
धनगढी: धनगढी उपमहानगरपालिका ८ क्याम्पस चोकमा अवस्थित एरिष्टो माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको छ। कक्षाका लागि विद्यालयले ’एरिष्टो अनलाइन क्लास ग्रुप’ निर्माण गरी वैशाख आठ गतेदेखि उक्त ग्रुपमा विद्यार्थीलाई जोडिरहेको र शैक्षिक सामग्रीहरू पनि राख्दै आइरहेको छ। अब त्यसैलाई झन प्रभावकारी बनाउने निर्णय गरेको हो।
कोरोना भाइरसका कारण देश लकडाउनको स्थितिमा रहेको बेला विद्यार्थीलाई पर्न गएको असुविधालाई ध्यानमा राखी प्रविधिको प्रयोगले कक्षा सञ्चालन गर्ने भएको हो। ’जुम क्लाउड मिटिङ्ग’ एप मार्फत विद्यालयका प्रधानाध्यापक हरि क्षेत्रीको अध्यक्षतामा शनिबार दोस्रो अनलाइन स्टाप बैठक बसी उक्त निर्णय गरेको हो।
पहिले चरणमा अभिभावकलाई अनलाइन कक्षाका बारेमा जिनकारी गराउने, उक्त पठनपाठनमा विद्यार्थीलाई आफ्नो निग्रानीमा सहभागी गराउन अनुरोध गर्ने, शिक्षकले सामग्री उत्पादन तथा सङ्कलन गर्ने र एरिष्टो अनलाइन कक्षामा अपलोड गर्ने, विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा लाग्न उत्प्रेरित गर्ने तथा विषय शिक्षकले विद्यार्थीको मूल्यङ्कन गर्ने योजना रहेको छ।
विद्यार्थीको सक्रियता र अनलाइन कक्षाको प्रभावकारिताका बारेमा पुनः समीक्षात्मक अनलाइन स्टाफ बैठक बस्ने र थप शैक्षिक क्रियाकलाप कसरी गर्दा विद्यार्थीलाई लाभ हुन्छ सोहीअनुसार जाने निर्णय विद्यालयको स्टाफ बैठकले गरेको छ।
नियमित कक्षाजस्तै सबै विषय र पक्ष अनलाइन कक्षामा समेट्न नसकिए तापनि विद्यार्थीमा पढाइप्रतिको रुचि जागरण गराइरहने र सिर्जनात्मक क्षमताको विकासमा सघाउ पुर्याउने लक्ष्य पूरा हुनेमा विद्यालयले विश्वास व्यक्त गरेको छ। सबै क्षेत्रमा इन्टरनेटको सहज पहुँच नभएको अवस्थालाई बुझी पछिल्लो समीक्षात्मक बैठकले त्यसको विकल्पमाथि छलफल गर्ने कुरा पनि विद्यालयले जनाएको छ।