नेपाली कांग्रेस चुरे गाउँ कार्य समितिद्धारा गाउँपालिकालाई राहत हस्तान्तरण
धनगढी-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुरे गाउँ कार्य समितिले लकडाउनका कारण छाक टार्न समस्या भएका परिवारका लागि खाद्यान्न सहयोग गरेको छ।
काँग्रेसका नेता कार्यकर्ताले व्यक्तिगत रुपमा संकलन गरिएको रकमबाट चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कालाई राहत स्वरुप खाद्यान्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापती दिनेशराज जोशी, वडा अध्यक्ष कृष्ण मल्ल, नेपाली कांग्रेस जिल्ला सल्लाहकार समिति सदस्य सुरत कार्की, गाउँ समितिका सह–अध्यक्ष टिकाराम ढुंङ्गाना, नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु राहत सामाग्री लिएर वडा कार्यालय पुगेका थिए।
नेपाली कांग्रेस चुरे गाउँ कार्य समितिका सभापती डिलबहादुर भाटका अनुसार नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको रकमबाट २० क्वीन्टल चामल, ८० किलो मिक्स दाल, ८० लिटर तेल, पाँच सय थान मास्क र एक थान पीपीई हस्तान्तरण गरिएको हो। लामो लकडाउनका कारण विपन्न, असहायको घरमा चुलो जलाउन नसक्ने अवस्था भएकाले खाद्यान्न सहयोग गरेको नेपाली कांग्रेस गाउँ कार्य समितिका सह–अध्यक्ष टिकाराम ढुङ्गानाले बताए।
नेपाल तरुण दलका चुरे गाउँ समितिका कार्यबहाक अध्यक्ष खगेन्द्र कठायतले स्थानीय सरकार छाक टार्न समस्या भएकाहरुका लागि गम्भीर नदेखिएपछि आफुहरुले राहत र स्वास्थ्य समाग्री उपलब्ध गराएको बताए।