सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा असिना गहुँ र तरकारीबालीमा क्षती, भोकमरीकाे चिन्ता

२०७७ वैशाख १०, ११:१७

बैतडीका विभिन्न स्थानमा परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति पुर्याएको छ। मङ्गलबार अपराह्न दिउँसो जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको स्थानीय विनोदकुमार कुँवरले बताए। उनले भने, “भित्र्याउनै लागेको गहुँबालीमा असिनाले व्यापक क्षति पुर्याएको छ।” 

नगरपालिकाका सबै वडामा असिनाले गहुँबालीमा क्षति पुर्याएको बताइएको छ। असिनाले गहुँबाली र तरकारी बालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन्। यसअघि केही दिन पहिला परेको असिनाले पुर्चौंडीको वडा नम्बर ३ ढुङ्गाबिसौनामा व्यापक क्षति पुर्याएको थियो। भित्र्याउनै लागेको गहुँबालीमा क्षति पुर्याएपछि किसानहरु भोकमरी हुने चिन्तामा छन्।

बारीमा लगाएको गहुँबालीमा क्षति पुगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भएको पुर्चौंडीका स्थानीय अर्जुन लुहारले बताए। उनले भने, “असिनाले गहुँबाली, फलफूल र तरकारीमा क्षति पुर्याएको छ।” अहिलेसम्मकै बढी असिना परेको बताउँदै स्थानीयवासी राजेन्द्र भट्टले असिनाले सबै खेतबारी सेताम्य भएको बताए। यसअघि गतहप्ता पनि सो क्षेत्रमा असिनाले क्षति पुर्याएको थियो। 

जिल्लाको सुर्नया गाउँपालिका–८ को ढोलेको दलित बस्तीका नागरिकहरुले हातमुख जोर्न समस्या भएको बताएका छन्। लकडाउनका कारण भारतमा काम गर्न गएकाहरु फर्कन नपाउँदा आफूहरुलाई किनेर खानसमेत समस्या भएको स्थानीयवासी गीता लुहारले बताए। “गाउँका करीब २५ जना भारतको नैनितालबाट लकडाउनका कारण घर आउन नपाउँदा घरपरिवारलाई समस्या भएको छ”, उनले भने, “श्रीमान्ले भारतबाट कमाएर ल्याएको पैसाले घरधन्दा चलाउने गरेको भए पनि लकडाउनका कारण श्रीमान् भारतको नैनितालमै रोकिएपछि निकै समस्या भएको छ।”  

गाउँपालिकाले पालिकाभरि रहेका विपन्न दलित परिवारलाई राहत दिने निर्णय गरिसकेकाले तथ्याङ्क सङ्कलनको काम भइरहेको र तथ्याङ्क सङ्कलनपछि राहत वितरण गरिने गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले बताए। वडामा रहेका दलित समुदायको तथ्याङ्क सङ्कलन गरेर गाउँपालिकाको निर्णयानुसार राहत वितरण गरिने वडा नम्बर ८ का वडाध्यक्ष आनन्द बोहराको भनाइ छ। रासस
 

कमेन्ट लोड गर्नुस