भारतमा क्वारेन्टाइनमा बसेका दार्चुलाका युवक डिप्रेसनको सिकार
दार्चुला : भारतको धारचुला मिनि स्टेडियको क्वारेन्टाइनमा बसेका दार्चुलाका युवक डिप्रेसनको सिकार भएका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ का ३८ वर्षीय गोपालसिह धामी क्वारेन्टाईनमा बस्दा बस्दै डिप्रेसनको सिकार भएका हुन्। विगत २३ दिनदेखि क्वारेन्टाईनमा बसेका धामीमा मानसिक समस्या देखिएको हो।
धामीमा एक सातादेखि मानसिक समस्या देखिएपछि उपचारका लागि पहल थालिएको छ। दाुर्चलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले धामीको उपचारको व्यवस्था मिलाउन आवश्यक समन्वय र सहजीकरणका लागि पहल भईरहेको बताए।
सोमबार मात्र जिल्ला प्रशासन कार्यालयले भारत पिथौरागढ जिल्लाको एसडिएम कार्यालय धारचुलालाई उनको उपचारमा आवश्यक समन्वय र सहजीकरण गरिदिन पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले जानकारी दिए।
क्वारेन्टाइनमा रहेका धामी एक्लै बोल्ने, गाली गलौज गर्ने, लुगा च्यातेर नांगै हिड्ने, वर्वराउने गर्दै आएको उनीसँगै रहेका मालिकार्जुन वडा नम्बर ३ का मानसिह धामीले बताए। भारतमा मजदुरी गरेर फर्किने क्रममा लकडाउन हुँदा उनी धारचुलामै अड्किएका थिए।
क्वारेन्टाइनमा बसेपछि घरायसी चिन्ताको कारण डिप्रेसन भएको हुन सक्ने अनुमान गरिएको छ। यसअघि मालिकार्जुन गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेख्दै धामीको भारतमै उपचारको बन्दोबस्त मिलाईदिन आग्रह गरेको थियो।
धामीमा यसअघि पनि मानसिक समस्या देखिएपछि दुई पटक भारतकै बरेली र एक पटक नेपालमै उपचार गरिएको थियो।