बैतडीको दोगडाकेदारले आफैले बनाएको निर्णय उल्लंघन गरी कुखुरा बाड्यो
बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले गत चैत २५ गते एउटा निर्णय गरेको थियो। निर्णयमा लकडाउनसम्म अन्तरपालिका आवगमन बन्द गरिएको स्पष्ट उल्लेख छ। तर आफैले गरेको निर्णय विपरित दोगडाकेदार गाउँपालिकाले अर्को गाउँपालिकाबाट कुखुरा ल्याएर बाडेको पाइएको छ।
कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रण गर्न नेपालमा पनि लकडाउन गरिएको छ। लकडाउनका बेला अत्यावश्यक कामबाहेकका सबै काम ठप्प छन्।
लकडाउनको पूर्ण पालना गर्न सरकारको निर्देशनानुसार स्थानीय तह पनि लागेका छन् तर बैतडीको दोगडाकेदार गाउँपालिकाले लकडाउनको बेला कुखुरा वितरण गरेको छ। लकडाउनका बेला गाउँपालिकाको आकस्मिक बाहेकका सबै काम बन्द रहेका बेला कुखुरा वितरण गरिएको हो।
गाउँपालिकामा रहेका कुखुरा फार्म दर्ता र खोर बनाएका किसानलाई आइतबार ७०० कुखुरा वितरण गरिएको कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए। “लकडाउनभन्दा अगाडि नै चल्ला बाँड्ने भन्ने योजना रहेको भए पनि कुखुरा ठूला हुँदै जाँदा समस्या भएपछि लकडाउनकै बीचमा बाँडिएको हो”, उनले भने, “व्यावसायिकरूपमा कुखुरापालन गरिरहेका किसानलाई चार हप्ताका चल्ला बाँड्ने कार्यक्रम रहेको थियो तर लकडाउनका कारण चल्ला वितरण गर्न सकिएन।” विभिन्न वडाका आठ किसानलाई कुखुरा वितरण गरिएको उनले बताए।
बैतडीकै सुर्नया गाउँपालिकामा रहेको कुखुरा फार्मबाट कुखुरा जीपमा लगेर गाउँपालिकामा बाँडिएको हो लकडाउनमा कडाइ गर्न भन्दै यसअघि चैत २५ गते गाउँपालिकाले अन्तरपालिका आवागमन पूर्णपमा बन्द गर्ने निर्णय विपरीत आफैँले जीपमा कुखुरा लगेर वितरण गरेको हो। चैत २५ गते गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीद्वारा हस्ताक्षित सूचनामा मौसमी कृषिबाहेक एक वडाबाट अर्को वडामा जानसमेत अध्यक्षको सिफारिसबिना जान नपाउने उल्लेख गरिएको छ।
गाउँपालिकाको वडा नं २, ३, ४, ७ र ८ मा कुखुरा वितरण गरिएको भए पनि सम्बन्धित वडाध्यक्षलाई जानकारी नै नदिई वितरण गरिएको आरोप लागेको छ। वडा नं ४ का कति किसानलाई कुखुरा वितरण गरियो भन्ने बारे आफू अनभिज्ञ रहेको वडाध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए।
“मेरो वडामा कति जनालाई कसरी वितरण गरियो मलाई थाहा छैन”, उनले भने, “कार्यपालिकाका निर्णय विपरीत कुखुरा वितरण गरिएका छन्।” लकडाउनका बेला खान नपाएर भोकभोकै बसेका नागरिकलाई राहत वितरण गर्नुको सट्टा लकडाउनको उल्लङ्घन गर्दै कुखुरा वितरण गर्नु सही नभएको उनको भनाइ छ।
एक किसानलार्ई कम्तीमा २० कुखुराका दरले बाँडिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले दाबी गरे पनि वडा नं ४ का किसानले भने १५/१५ कुखुरा मात्रै पाएको बताएका छन्। यसका साथै किसानका निवेदनका आधारमा कुखुरा वितरण गरिएको भनिए पनि नाम नखुलाउने सर्तमा एक किसानले आफूले निवेदन पनि नदिएको बताए। उनले भने “कुखुरा बाँड्ने भन्ने खबर एक्कासि पाएको हुँ, नागरिकताको फोटोकपी पछि दिनुहोला भनेको छ।”
कुखुरा बाड्नैपर्ने बाध्यता : अध्यक्ष कार्की
उता गाउँपालिका अध्यक्ष कार्कीले पशुशाखाको कुखुरा फार्म विकास कार्यक्रम अन्तर्गत कुखुरा वितरण गरिएको बताए। उक्त कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गरिएको अध्यक्ष कार्कीले बताए। उनले भने, “वडा नं ४ मा वडाध्यक्ष उपनिर्वाचनपछि आउनुभएको हो, वडाध्यक्ष आउनुभन्दा पहिला नै उक्त निर्णय भएको थियो।”
लकडाउन उल्लङ्घनका बारेमा सोध्दा अध्यक्ष कार्की भन्छन, 'हामीले जोसँग सम्झौता गरेका थियौ, त्यहाँ कुखुराका चल्ला ठूला भइसकेका थिए। हामीसँग दुई विकल्प थिए, की सबै चल्ला मार्नुपर्यो की सामाजिक दुरी कायमगरी घरघरमा गएर चल्ला बाड्नुपर्यो।' आफुहरुले लकडाउन त उल्लंघन गरेकाे तर भिडभाड नगरी सबैको घरमा गएर कुखुरा बाडेकाे उनले बताए।
यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने लकडाउनको बेला कुखुरा बाँड्न पाइन्न भनेर कतै नलेखेको बताए। “लकडाउनको बेला गतिविधि नियन्त्रण गर्ने हो”, उनले भने “लकडाउनको बेला नगरेको भए हुन्थ्यो, लकडाउन प्रभावकारी बनाउन केही दिन पर सार्न मिल्ने, अत्याश्यक नभएका, जरुरी नभएका त्यस्ता काम नगर्ने भन्ने निर्णय भएको छ।”