कैलालीमा कर्णाली पारिको खेती स्याहार्न वडाको सिफारिस
कैलालीको टीकापुर– ८ श्रीलंकाका बासिन्दाले वडा कार्यालयको सिफारिस लिएपछि खेती स्याहार्न पाउने भएका छन्। वडाको सिफारिस लिएपछि बर्दियाको सीमामा रहेका प्रहरीले किसानलाई शुक्रबारदेखि खेतमा जान दिएका हुन्। आज ४० किसान वडाको सिफारिस लिएर आफ्नो बाली स्याहार्न कर्णाली नदी पारिको श्रीलंकामा गएको टीकापुर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए।
‘‘लकडाउनका कारण प्रहरीले किसानलाई खेतमा जान दिएका थिएनन्,’’ वडाध्यक्ष ठकुलल्लाले भने, ‘‘बिहीबार कैलाली र बर्दियाका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलपछि किसानलाई गहुंँ स्याहार्न सहज बनाउने सहमति भएको हो।’’ सहमतिअनुसार वडाको सिफारिस लिएर जानुपर्ने ठकुल्लाले जानकारी दिए। टीकापुर–८ को करीब एक हजार बिघा जग्गा कर्णाली नदी पारि पर्छ। उक्त जग्गा उपभोग गर्न कर्णाली पुल तरेर जानुपर्छ, त्यसका लागि बर्दियाको सीमानामा पुग्नैपर्छ।
लकडाउनका कारण दुई जिल्ला त्यसमा पनि प्रदेश नै फरक भएपछि प्रहरीले आवतजावतलाई कडाइका साथ रोकेको थियो। यसैका मारमा त्यस वडाका किसान परेका हुन्। त्यसक्षेत्रमा करीब डेढ सय बिघा जग्गामा गहुँखेती गरिएको त्यस क्षेत्रका किसानको भनाइ छ।–रासस