सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘भारतीय तरकारी ल्याउन पाइने तर अलपत्र नेपालीलाई आउन नदिने याे कस्तो नियम ?’

२०७७ वैशाख ५, ०६:३१ कमल सावद

धनगढी : कोरोना भाइरसको जोखिमबाट जोगाउन भन्दै सबै अन्तराष्ट्रिय नाका बन्द गरेपनि अत्यावश्यक वस्तुको नाममा भारतीय तरकारी निर्वाध आउदा सुदूरपश्चिमका सीमावर्ती बजारमा जोखिम बढेको छ।

नेपाली नागरिक छिर्न नदिएपनि अत्यावश्यक वस्तु भन्दै हरेक दिन भारतीय तरकारी भित्रीन थालेपछि सीमा क्षेत्रका वस्तीमा जोखिम बढेको हो। सीमा पारीबाट तरकारी बोकेर ल्याईने गाडी र चालक तथा सह चालकहरुलाई न जाँच गरिन्छ न त क्वारेन्टाईनमै राखिन्छ। नेपाल लकडाउन गरिएकोे चैत ११ गतेदेखि कैलालीको गौरीफन्टा नाकाबाट मात्रै १४ सय १३ टन तरकारी आयात भएको छ। दैनिक १० देखि १२ ट्रकहरु कैलाली भन्सारबाट नेपाल प्रवेश हुने गरेका छन्।

गत चैत ११ गतेदेखि कैलालीको गौरीफन्टा भन्सारबाट आलु एक हजार ३० टन, ४७ टन हरियो तरकारी, दुई सय ४३ टन प्याज र एक सय २८ टमाटर भारतबाट आयात भएको कैलाली भन्सारका सूचना अधिकारी तिल्लु शर्माले बताए। उनले १४ सय १३ टन तरकारी यो अवधिमा भारतबाट आयात भएको जानकारी दिए। भारतका विभिन्न शहरबाट तरकारी आयात हुने र संगै आउने भारतीय नागरिकहरुबाट समेत कोरोनाको संक्रमण फैलिने खतरा रहेको धनगढीको त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानसिँह चैसिरले बताए।

‘भारतबाट तरकारी नियमित आउदैछ। तरकारीका ट्रकहरुमा भारतीय नागरिक पनि आउने गरेका छन्। उनीहरुका कारण नेपालमा कोरोना फैलिने खतरा छ।’ उनले भने। भारतबाट आएको तरकारी भारतीय व्यापारीहरुले नै धनगढी लगायतका क्षेत्रहरुमा घर–घरमा बिक्रि गर्ने भएकाले अझै जोखिम बढेको उनले बताए। लकडाउनका कारण घर बाहिर निस्कन नपाएका स्थानीय उपभोक्तालाई घर अगाडी नै ठेलाले तरकारी फलफुल ल्याउंदा सहज त भएको छ, तर त्यस्ले झनै जोखिम बढाएको छ।

कैलालीको भन्सार कार्यालयका प्रमुख ईश्वरी अर्याल भारतबाट तरकारी ल्याउनेहरुको सीमामा ज्वरो परिक्षण गरिने भएकाले कोरोनाको संक्रमण नफैलिने बताउछँन्। ‘भारतको तरकारी रोक्न आदेश माथिबाट आएको छैन्। तरकारी आयात हुदैछ। एक ट्रकमा दुई/तीन जना भारतीय आउँछन्। उनीहरुको सीमामा ज्वरो परिक्षण गरिन्छ।’ अर्यालले भने।

उता कञ्चनपुरको गड्डाचौकी भन्सारबाट तरकारी आयातमा रोक लगाइएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘भारतीय तरकारी रोक्न हामीले आदेश दिन सक्दैनौ। भन्सार कार्यालयको अधिकार हो। उनीहरुसंग छलफल भएको छ। तर माथिबाट आयात रोक्न निर्देशन नभएको कैलाली भन्सारले बताउदै आएको छ।’

भारतबाट आएको तरकारीको बिक्रीमा कुनै रोक लगाइएको छैन्। तर स्थानीय उत्पादनलाई बजार सम्म पनि पुगाउन दिईएको छैन। यस्ले एकातिर कोरोनाको जोखिम बढेको छ भने अर्कोतर्फ स्थानीय उत्पादन पनि खेर गईरहेको छ। धनगढीका तरकारी किसान रमेश चौधरीले भने, ‘भारतबाट तरकारी ल्याउन पाईने तर भारतमा अलपत्र नेपालीले आफ्नो देश आउन नपाउने यो कस्तो नियम हो ?’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस