आज पनि घर फर्किन पाएनन् भारतमै किरिया बसेका दार्चुलाका वासुदेव
धनगढी: स्थानीय प्रशासनले भारतको क्वारेन्टाईनमै किरिया बसेका दार्चुलाका वासुदेव भट्टलाई घर फर्काउन पहल थाले पनि भारतीय पक्षले आज पनि छोडेको छैन्।
जिल्लाको शैल्यशिखर नगरपालिका–१ स्थित घरमा आमाको मृत्यु भएपछि भट्ट सीमा बन्द हुँदा भारतीय बजार बलुवाकोटमा रहेको क्वारेन्टाईनमै किरिया बसेका छन्। स्थानीय प्रशासनलाई वडा कार्यालयले आवश्यक पहलका लागि आग्रह गरेपछि प्रशासनले भट्टलाई घर फर्काउनका लागि पहल थालेको थियो। वडा नम्वर १ का अध्यक्ष भरतबहादुर खडायतले लिखित रुपमै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भट्टलाई घर फर्काउन पहल गरिदिन आग्रह गरेका थिए।
सोही आग्रह अनुसार भट्टलाई घर फर्काउन पहल गरिए पनि आज सम्भव नभएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए। ‘धारचुलामा रहेको एसडिएम कार्यालयलाई हामीले लिखित र मौखिक रुपमा आग्रह गरिसकेका छौँ। एसडिएम कार्यालयले पनि डिएम कार्यालयसंग पहल भईरहेको जनाएको छ।
डिएम कार्यालयले अहिले उत्तराखण्डकोका मन्त्रीहरुसंग पहल भईरहेको जानकारी दिएका छन्। भारतीय पक्षले छोडेपछि हामी प्रवेश अनुमती दिन्छौ।’ सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले दिनेश खवरलाई भने।