सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ३९० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

२०७७ वैशाख ३, ०३:११

बैतडी: बैतडीमा कोरोना भाइरसका शङ्कास्पद ३९० जनाको गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। गत चैत २८ गते जिल्लाका विभिन्न स्थानमा सङ्कलन गरिएको थ्रोट स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।  

थ्रोट स्वाब सङ्कलन भएका ४२५ मध्ये ३९० जनाको रिपोर्ट नेगेटिभ आएको र ७ जनाको स्वाब पुनः सङ्कलन गर्नुपर्ने देखिएको छ। बाँकी २८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। कोभिड १९ उच्चस्तरीय समितिको समन्वयमा हेलिकोप्टर मार्फत स्वास्थ्यकर्मीको टोली आएर पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा क्वारेन्टाइनमा बसेकाको थ्रोट स्वाब सङ्कलन गरेको थियो। 

पुर्चौंडीमा ३४३ र पञ्चेश्वरमा ८२ जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको थियो। कोरोना रिपोर्ट नेगेटिभ आएका सबैलाई एकहप्ते होम क्वारेन्टाइनमा बस्ने गरी घर फर्काउने तयारी भएको जनाइएको छ। -रासस

कमेन्ट लोड गर्नुस