सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका स्थानीय तहमा टोल फ्रि नम्बर सञ्चालन

२०७७ वैशाख ३, ०२:५२

बैतडी: बैतडीका दुई स्थानीय तहमा टोल फ्रि नम्बर सञ्चालनमा आएका छन्। जिल्लाको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत पैसा नपर्ने टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए।

जारी लकडाउनका कारण कुनै समस्या परेमा नगरवासीले टोल फ्रि नम्बरमा आफ्ना समस्या राख्न सक्ने र ती समस्या समाधानका लागि नगरपालिकाले प्रयास गर्ने प्रवक्ता भण्डारीले बताए। नगरपालिकाले १६६०९५५२००३ नम्बरमा फोन गरेर आफ्ना समस्या, सुझाव र गुनासा राख्न पनि सबै नगरवासीमा आग्रह गरेको छ। कोरोना भाइरसका कारण कुनै समस्या परेमा यो नम्बरमा फोन गर्दा पैसा नलाग्ने बताइएको छ।

लकडाउनका कारण कसैलाई खाद्यान्न समस्या, औषधि उपचारलगायत अन्य समस्याहरु पनि भए टोल फ्रि नम्बरमा फोन गरेर राख्न सक्ने र ती समस्या समाधानका लागि नगरपालिकाले उपयुक्त पहल गर्ने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए।

जिल्लामा टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने पाटन नगरपालिका दोश्रो स्थानीय तह बनेको छ। यसअघि सुर्नया गाउँपालिकाले टोल फ्रि नम्बर सञ्चालनमा ल्याइसकेको छ। पाटन नगरपालिकाले यसअघि नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि २० लाखको राहत कोष स्थापना गरिसकेको छ भने कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका कर्मचारीको मृत्यु भएमा १० लाख क्षतिपूर्ती दिने निर्णयसमेत गरिसकेको नगरपालिकाले जनाएको छ। -विनोदसिँह विष्ट/रासस

कमेन्ट लोड गर्नुस