बैतडीमा प्रहरीसहित ६३ जनाको र्यापिड टेस्ट नेगेटिभ
बैतडी- बैतडीमा क्वारेन्टाइनमा बसेका नागरिकको आजदेखि र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ। आज टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिए।
क्वारेन्टाइनमा बसेका ५५ र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका आठ जनाको प्रहरी र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए। थ्रोट स्वाब सङ्कलन नभएका पालिकामा क्वारेन्टाइनमा बसेका नागरिकको र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
क्वारेन्टाइनमा बसेकामध्ये सुर्नया गाउँपालिकाका १५, दोगडाकेदार गाउँपालिका ५, डिलाशैनी गाउँपालिकामा १६ र दशरथचन्द नगरपालिकाका १९ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो। टेस्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाएको जनस्वास्थ्य निरीक्षक जोशीले बताए।
क्वारेन्टाइनमा बसेकामध्ये १४ दिन पूरा भएका नागरिककोर्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको बताइएको छ। जिल्लाको सिगास गाउँपालिका र पाटन नगरपालिकामा भोलि टेष्ट हुने बताइएको छ। यसअघि बिहीबार जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका ४ सय २५ जनाको स्वाब सङ्कलन गरिएको थियो।