सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चार सय ६१ जनाको ‘थ्रोट स्याब’ सङ्कलन

२०७६ चैत्र २९, ०८:१७

दार्चुला- दार्चुलामा भारतका विभिन्न शहरबाट आएका चार सय बढीको आज ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ। जिल्लाका छ स्थानबाट क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका कूल ४६१ जनाको ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरिएको हो।

सङ्कलन गरिएकामा ४३८ पुरुष २० महिला र तीन जना बालबालिका रहेका छन्।  बिहान नेपाली सेनाको हेलिकप्टर र कैलाश एयरको हेलिकप्टरमार्फत ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको हो। दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा शैल्यशिखरका ६४ जना, मालिकार्जुन गाउँपालिकाका १६ र लेकम गाउँपालिकाका चार जना गरी कूल ८४ जनाको थ्रोट स्याब सङ्कलन गरिएको छ। गोकुलेश्वरमा सबै पुरुषको मात्रै ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको हो।

महाकाली नगरपालिकामा १११ जनाको थ्रोट स्याब सङ्कलन गरिएको नगरपालिका स्वास्थ्य सहसंयोजक लालजीरा भट्टले जानकारी दिए। नगरपालिकामा ९७ जना पुरुष, १२ जना महिला र दुई जना बालकको थ्रोट स्वाब कोरोना परीक्षणका लागि सङ्कलन गरिएको छ। यसैगरी मार्मा गाउँपालिकाको लटिनाथमा कूल १४५ जनाको थ्रोट स्याब सङ्कलन गरिएको छ। मार्मा गाउँपालिकाका १३९ जना र अपिहिमालका छ जनाको थ्रोट स्याब सङ्कलन गरिएको मार्मा गाउँपालिका सव इञ्जिनीयर विक्रम जोशीले जानकारी दिए। मार्मा गाउँपालिकामा एक स्थानीय र एक जना स्वास्थ्यकर्मी महिलासमेतको थ्रोट स्याब सङ्कलन गरिएको हो।

नौगाड गाउँपालिकामा ४५ जनाको थ्रोट स्याब सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए। गाउँपालिकाले भारतका विभिन्न शहरबाट आएका व्यक्तिको थ्रोट स्याब सङ्कलन गराएको हो। सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी खारको दल्लेखस्थित पानीधारा अधारभूत विद्यालयमा थ्रोट स्याब सङ्कलन भएको हो। 

यस्तै दुहुँ गाउँपालिकाको हिकिलामा ३३ पुरुष र पाँच महिला गरी ३८ जनाको थ्रोट स्याब सङ्कलन गरिएको हिकिला स्वास्थ्य चौकी इञ्चार्ज प्रेमसिंह धामीले बताए। जसमा एक जना बालक रहेका छन्। दुहुँमा ३५ जना क्वारेन्टाइनमा बसेका व्यक्ति र तीन जना होम क्वारेन्टाइनमा बसेकाको थ्रोट स्याब सङ्कलन गरिएको धामीको भनाइ छ। 

यसैगरी व्यास गाउँपालिकाको हुतीमा ३७ पुरुष र एक महिला गरी ३८ जनाको स्याब सङ्कलन गरिएको छ। शनिबार सङ्कलन गरिएको थ्रोट स्वाबलाई स्वास्थ्यकर्मीको टोलीले परीक्षणका लागि काठमाडौँ लगेका छन् । कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकप्टरमार्फत स्वाब सङ्कलनका लागि टोली दार्चुला पुगेको थियो। जिल्लाका नौवटै स्थानीय तहमा भारतलगायतका देशबाट आएका व्यक्तिको थ्रोट स्वाब सङ्कलन गर्ने गरी सबै क्षेत्र भूगोल मिलाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। सकेसम्म बढी व्यक्तिको सङ्कलन होस् भन्नका लागि समय र स्थान मिलाइएको हो। 

स्वाब सङ्कलनमा प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी, सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यर्मीको सहभागिता थियो। अहिले क्वारेन्टाइनमा बसेका र बाहिरबाट आएर होम क्वारेन्टाइनमा बसेकाको थ्रोट स्वाब सङ्कलन गरिएको छ। उनीहरुको स्वाब परीक्षणपछि कसैको रिपोर्ट पोजिटिभ आएमा आइसोलेशनमा राखेर उपचार गरिन्छ भने रिपोर्ट नेगेटिभ आएपछि उनीहरु होम क्वारेन्टाइनमा बस्नेछन्।

दार्चुलामा एक हजार चार सय ७ जना भारतलगायतका क्षेत्रबाट आएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ। सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा दार्चुलामा भारतलगायतका ठाउँबाट लकडाउनको समयमा पुल र महाकाली नदी तरेर आएका व्यक्ति धेरै भएको हुँदा बढी सङ्ख्यामा स्याब परीक्षण गर्न लगाइएको प्रजिअ पौडेलले बताए। यहाँ महाकाली नदीमार्फत पौडी खेलेर, तुइन तथा ट्युब तरेरसमेत मजदूर घर फर्किएका छन्। जिल्लामा नदीबाट अवैधरुपमा भित्रिएका व्यक्तिको तथ्याङ्क भने समेटिएको छैन्।

कमेन्ट लोड गर्नुस