बाजुरा अस्पतालका अध्यक्ष थापाले दिए कोलेनिकाका लेखापाललाई हातखुट्टा भाँच्ने धम्की
बाजुरा- बाजुरा अस्पताल व्यवस्थान समितिका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाललाई हातखुट्टा भाचिदिने धम्की दिएका छन्। नेकपा बाजुराका जिल्ला सचिवालय सदस्य समेत रहेका थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल प्रकाश भट्टलाई गालीगलौज गर्दै हातखुट्टा भाचिदिने धम्की दिएको अडियो सार्वजनिक भएको छ।
टेलिफोनमा लेखापाल भट्टलाई धमक्याउँदै अध्यक्ष थापाले भनेका छन्, ‘यो बाजुरा जिल्ला हो हेर्नुहोस। यहाँ कम्युनिष्ट पार्टीले जे भन्यो त्यही हुन्छ। यहाँ बस्ने मन छ कि छैन?’ तपाई कहाँ हुनुहुन्छ ? भेटेर दुई चडकन हान्नु पर्ने छ। हातगोडा भांच्नु पर्नेछ मु......।’ भट्टले फोनमा सोधेका छन्, मैले के गरे हजुर ? फेरी थापा बोल्छन्, म सँग रिर्पोट छ नी तपाईको यार, काँग्रेसको राजनीति गर्ने भए जाउ मु....बाहिर।’ अध्यक्ष थापाले फोनमा धम्की दिनुको कारणबारे लेखापाल भट्टले प्रतिक्रिया माग्दा उनले बोल्न मानेनन्।
बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई लेखिएको स्पष्टीकरण भट्टले बाहिर ल्याएको आरोप थापाले लगाएका छन्। नगरपालिकाकी उप–प्रमुख तारा खाती थापाले कार्यकारी अधिकृत नरेन्द्र नाथलाई स्पष्टीकरण सोधेकी थिईन्। उनले स्पष्टीकरणको बारेमा बोल्न चाहिनन्। नगरपालिकामा कार्यकारी अधिकृतको विषयलाई लिएर लफडा रहेको बताइन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थापाले भने, ‘उहाँलाई मैले सम्झाउन खोजेको हुँ। धम्की दिएको हैन्। ५ मिनेट ४३ सेकेन्ड कुरा भएको छ। तर आबेगमा आएको अडियो मात्र सार्वजनिक गरिएको छ।’ स्पष्टीकरण काँग्रेसका नेताहरुलाई पठाएको थापाको आरोप छ।