दिनमा चार सयको नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन धनगढी पुगाइयो
धनगढी : कोरोना परक्षिण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण ल्याएर काठमाडौँबाट उडेको नेपाली सेनाको स्काईट्रक धनगढी पुगेको छ। धनगढीमा स्थापना भएको प्रयोगशाला मार्फत धेरै कम सङख्यामा परीक्षण हुन थालेपछि बढि क्षमताका उपकरण ल्याएर सेनाको स्काई ट्रक केही बेर अघि धनगढी विमानस्थलमा अवतरण गरेको हो।
ती उपकरण जडान भए तीन घण्टामा ९६ जना र दिनमा चार सयको परीक्षण गर्न सकिने बताईएको छ। पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरिको प्रयोगशालामा आज स्थापना गर्ने लक्ष्य राखिएको छ।
सोही स्काई ट्रक मार्फत मंगलवार संकलन गरिएका थ्रोट स्वावको नमूना समेत पठाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। यसअघि संघिय सरकारले धनगढीको सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा ल्याएको कोरोना परिक्षण प्रयोगशालामा कम क्षमताका उपकरण पठाएपछि समस्या भएको छ।
कोरोना भाईरसको उच्च जोखिममा रहेको सुदूरपश्चिममा कम क्षमताका उपकरण भएको प्रयोगशाला स्थापना गरिएपछि नमूना परिक्षणमा ढिलाई भईरहेको थियो। एक घण्टा १४ मिनेटमा रिर्पोट आउने दावी गरिएपनि अहिले औसतमा दैनिक तीनवटा नमूना मात्रै परिक्षण भईरहेको छ।