सुदूरपश्चिमका एक सय ६५ जनाको कोरोना परीक्षण, चारको रिपोर्ट आउन बाँकी
धनगढी : सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा चार जना कोरोना संक्रमित भेटिएका बेला नमूना संकलन गरिएका अन्य चार जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ। सेती प्रादेशिक अस्पताल सहितका अस्पताल र क्वारेन्टाईनबाट एक सय ६९ जनाको थ्रोट स्वाब संकलन गरी परिक्षणका लागि पठाएकोमा चार जनाको रिपोर्ट प्राप्त नभएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले एक सय ६५ जनाको रिपोर्ट आएकोमा चार जना बाहेक एक सय ६१ को रिपोर्ट नेगेटीभ देखिएको बताए। रिर्पोट आउन बाँकी चार जनामा कैलाली सहित विभिन्न जिल्लाका रहेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपाली सेनाले क्वारेन्टाईनबाट संकलन गरेका ९२ जनाको थ्रोट स्वाव र विभिन्न अस्पतालबाट पनि नमुना संकलनका परिक्षणका लागि पठाइएको थियो।
आज भने कसैका पनि परीक्षणका लागि नमूना पठाईएको छैन्। सुदूरपश्चिम प्रदेशबाट पहिलो पटक फागुन १ गते नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईएको थियो। त्यसयता ५३ दिनको अवधीमा एक सय ६९ जनाको मात्रै नमूना संकलन भएको छ भने परीक्षण झनै सुस्त छ।
अहिले धनगढीमै प्रयोगशाला स्थापना भएपनि स्वाव संकलनको क्रम धेरै र परीक्षण सुस्त गतिमा हुँदा समस्या भईरहेको छ।