महाकालीमा पौडी खेलेर आएकालाई डडेल्धुराको आलितालले क्वारेन्टाइनमा राख्यो
भुपेन्द्र विष्ट, डडेल्धुरा: भारतको पिथौरागढबाट घर फर्किएका डडेल्धुराकाे आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई आलिताल गाउँपालिकाले आफैँले निर्माण गरेको क्वारेन्टाइनमा राखेको हो। भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका–३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टाइनमा राखिएको हो।
विश्वभर कोरोनो भाइरसको महामारी फैलिँदै गएपछि कामकाज प्रभावित हुँदा ठेकेदारले उनीहरूलाई कामबाट निकालेको थियो। ठेकेदारले कामबाट निकालेर दुई हजार गाडी भाडा दिएर पठाएकामा तीन दिन लगाएर नेपालको सिमानासम्म आइपुगेको र नेपालमा भएको लकडाउनका कारण महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेको उनीहरूले बताए।
आलिताल गाउँपालिकाले १४ दिनको क्वारेन्टाइनमा राखेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिए। उनीहरूको स्वास्थ्य स्थिति भने सामान्य रहेको आलिताल स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले जानकारी दिए। -रासस