सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी : कोरोनाबाट बच्न स्थानीय सरकारको चिठ्ठी !

२०७६ चैत्र २०, ११:२८

बैतडीको सुर्नया गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा बच्नका लागि प्रत्येकको घरमा चिठ्ठी दिइने भएको छ। गाउँपालिकाको वडा नम्बर ३ मा रहेको कोरोना नियन्त्रण तथा समन्वय समितिले यस्तो निर्णय गरेको हो। 

समन्वय समितिका संयोजक तथा गाउँपालिका–३ का वडाअध्यक्ष दिलाराम भट्टका अनुसार वडाभित्र रहेका सम्पूर्ण घरपरिवारलाई कारेनाबाट बच्ने उपायका बारेमा सचेतनामूलक चिठ्ठी पठाइने भएको हो। बुधबार बसेको समन्वय समितिको बैठकले बिहीबारदेखि घरदैलो कार्यक्रम गर्दै प्रत्येक घरमा चिठ्ठीका साथै साबुन पनि दिइने निर्णय गरेको उनले बताए। घरदैलोसँगै भारत तथा अन्य मुलुकबाट आएका नागरिक, अति विपन्न, ज्याला मजदुरी गर्ने तथा बेसहाराको तथ्याङ्क सङ्कलनको काम पनि हुने जनाईएको छ। 

बुधबार वडा नम्बर ३ का सात ओटै टोलका १४ परिचालकलाई चिठ्ठी र साबुन वितरण गर्न ४५० चिठ्ठी तथा ४५० साबुन वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष लिला बिष्टले बताए। कार्यक्रममार्फत वडा कार्यालयले भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्न अनुरोधसमेत गरेको छ। रासस
 

कमेन्ट लोड गर्नुस