डोटी : कोरोनाका कारण चैतेदशैँमा दिइएन पशुबलि
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण जिल्लामा बुधबार चैते अष्टमीका दिन कुनै पनि भगवतीका मन्दिरमा पशुबलि चढाइएन। केही मन्दिरमा एक÷दुई पुजारीले सामान्य पूजाआजा गरे पनि अन्य मन्दिरमा गत वर्षको जस्तो पूजापाठ र भिड लागेन।
यहाँको स्थानीय प्रशासनले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन तथा स्थानीयवासीलाई जोखिमबाट बचाउन मन्दिरमा पूजाआजादेखि सार्वजनिक स्थलहरुमा भिड नगर्न आग्रह गरेपछि जिल्लामा रहेका कुनै पनि भगवती तथा कालीका मन्दिरमा पशुबलि नदिनुका साथै पूजापाठ नगरिएको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले बताए। उनले भने, “सरकारले गरेको लकडाउनसँगै सबै जिल्लावासी हप्तौँदेखि घरभित्रै छन्, त्यसमा पनि स्थानीय प्रशासनले पूजाआजामा भिडभाड नगर्नु भनेकाले जिल्लामा पशुबलि दिने काम रोकिएको हो।”
पशुबलि दिइने जिल्लाका प्रसिद्ध भगवती मन्दिरहरु सिलगढीको कालिका, केआइसिंह गाउँपालिका–५ केदारगाउँको भगवती थान, तिखाको कालढुङ्गा भगवती थान, निरौली भगवती थान, गड्सेरा भगवती, पिपल्ला भगवती थानलगायतका दर्जनौँ मन्दिर सुनसान भएको स्थानीयवासीहरुले जानकारी दिएका छन्।
विगतका वर्षमा विशेष महत्वका साथ चैते अष्टमी मनाउने यहाँका विभिन्न भगवती मन्दिरमा यस वर्ष कोरोनाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कुनै पशुबलि नदिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दिलीपसिंह देउवाले बताए। “मन्दिरमा पशुबलि दिँदा मानिसको भिड हुने र रोगको सङ्क्रमण हुने आशङ्काले हामीले पशुबलि नदिन आग्रह गरेका थियौँ, हाम्रो आग्रहलाई सबै जिल्लावासीले पालना गरे” उनले भने।
चैते दशैँमा जिल्लाका विभिन्न ठाउँमा मेला लाग्ने, पशुबलि चढाउने, चेलीबेटी माइत जानेलगायतका धार्मिक संस्कारका कार्य गर्दा मानिसको भीड धेरै हुने भन्दै स्थानीय प्रशासनको आग्रहमा यहाँका नौ वटै स्थानीय तहले भीडभाड हुने गरी तडकभडकका साथ चैते दशँै नमनाउन सूचना जारी गरेका थिए। सरकारले देशलाई लकडाउनको घोषणा गरेकाले त्यसमा सहयोग गर्न स्थानीय प्रशासन र स्थानीय तहले जिल्लामा मनाइने सबै चाडपर्व नमनाउन सूचना जारी गरेका छन्। रासस