डडेल्धुराको आरईडिसीद्वारा संञ्चारकर्मीलाई मास्क वितरण
डडेल्धुरा: डडेल्धुरामा रहेको ग्रामिण वातावरण विकास केन्द्र (आरईडिसी) ले कोरोना भाइरसबाट बच्न जिल्लामा रहेका संचारकर्मी र स्थानिय तहलाई निःशुल्क मास्क वितरण गरेको छ।
मंगलबार जिल्ला सदरमुकाममा रहेका संञ्चारकर्मीहरु संगै नवदुर्गा गाँउपालिकामा निःशुल्क मास्क वितरण गरिएको संस्थाका अध्यक्ष सिद्धराज भट्टले जानकारी दिएका छन्। कोरोना भाईरसको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले जिल्लाका सम्पूर्ण रेडियोमा रहेका संञ्चारकर्मीहरुलाई ५० थान र नवदुर्गा गाँउपालिकालाई ३०० थान निःशुल्क मास्क वितरण गरेको हो।
बजारमा मास्कको अभाव बढ्दै गएपछि संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप जिल्लामा रहेका संचारकर्मी र आमनागरिकलाई मास्क निर्माण गरेर वितरण गरेको जनाएको छ। संचारकर्मीहरुले समाचार संकलनका क्रममा आफ्नो ज्यान जोखीममा राखेर जानुपर्ने भएकाले उक्त अवस्थालाई मध्यनजर गरि प्रतीव्यक्ति दुइको दरले मास्क बितरण गरीएको संस्थाका अध्यक्ष भट्टले बताए।
कोरोना भाईरसको संक्रमण बढ्ने जोखिमपूर्ण अवस्था रहेको र यसबाट बच्न पूर्वतयारीका लागि मास्क वितरण गरेको संस्थाका महासचिव तिलक शाहीले बताएका छन्। संस्थाले संचारमाध्यमहरुमै पुगेर मास्क हस्तान्तरण गरेको हो।