अछाममा अस्पताल लैजादै गर्दा पुरुषकोे मृत्यु
अछाममा एक पुरुषलाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। जिल्लाको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५६ वर्षीय जगतबहादुर लुहारलाई बयलपाटा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खडकाले पेट र घाँटी दुःख्ने समस्या देखिएपछि लुहारलाई एम्बुलेन्स मार्फत बयलपाटा अस्पताल लैजाने क्रममा आज मृत्यु भएको जानकारी दिए।
बयलपाटा अस्पतालका प्रमुख डाक्टर विकास गौचनले पनि लुहारलाई उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको पुष्टि गरे। उनले पेट दुखेको भनेपछि एम्बुलेन्स मार्फत अस्पताल ल्याउने क्रममा मृत्यु भएको बताउँदै लुहारमा पहिलेदेखि नै मृगौला सम्बन्धी समस्या रहेको बताए।
मृत्युपछि परिवारका सदस्यले लुहारको शव बुझेका छन्। उनले लुहारको मृत्युको कारण अहिले विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस नभएको पनि बताए।