सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले कालोबजारी हटाउन सुपथ मूल्य पसल सञ्चालन गर्ने

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र ४, ०७:०९

चीनबाट फैलिएको कोभिड–९१ (कोरोना) भाइरसले विश्वका अधिकांश मुलुकलाई नराम्ररी प्रभावित तुल्याइरहेको अवस्थामा सरकारले कोरोनाका कारण आपूर्ति व्यवस्थामा पर्न सक्ने प्रभावप्रति सचेत रहेको जनाएको छ। 

कोरोनाका कारण दैनिक उपभोग्य, औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव र सहज आपूर्तिमा देखिएको समस्याका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थालाई प्रतिकूल अवस्था आउन नदिइने कटिबद्धता व्यक्त गरेका छन्। 

उनले दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहोस् भन्नेमा सरकार सचेत रहेको र आपूर्ति व्यवस्थालाई सन्तुलित बनाउन सरकार लागि परेको बताए। उपभोक्तालाई उपभोग्य वस्तुको उपलब्धतालाई सहज बनाउन सरकारी संयन्त्रको परिचालन गरेर सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरिएको उनले बताए। 

“खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट सुपथ मूल्यको पसल चलाउने तयारी गरिएको छ”, मन्त्री भट्टले भने, “मोबाइल भ्यानमार्फत पनि जनतालाई सहज रुपमा खाद्यवस्त उपलब्ध गराइने छ।” 

कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न सरकार गम्भीर ढङ्गबाट अगाडि बढेको बताउँदै उनले गृहमन्त्रालयसँगको समन्वयमा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमनलाई व्यापक बनाइने जानकारी गराए। “आपूर्ति मन्त्रालय सुतेको छैन”, उनले भने, “जनताको सेवामा २४ सै घन्टा तयार हुनुपर्छ भनेर मैले कर्मचारीलाई निर्देशन दिएको छु।”

कोरोनाका कारण उपभोग्य वस्तुको अभाव हुने त्रासले उपभोक्ताले सामान ‘होल्ड’ गर्ने प्रवृत्तिले गर्दा बजारमा चाप परेको उल्लेख गर्दै उनले अत्यावश्यकीय सामग्रीको आपूर्तिमा कुनै समस्या नभएकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरे।

उपभोक्ता आफैँ अनुगमनकर्ता भइदिन आग्रह गर्दै उनले कालोबजारी तथा कृत्रिम अभाव भएमा सरकारलाई सूचना दिन पनि अनुरोध गरे। जनताको गुनासो सुन्न मन्त्रालयले ११३७ नम्बरको हटलाइन पनि सञ्चालनमा ल्याएको उनको भनाइ थियो। 

छलफलमा आपूर्ति सचिव डा बैकुण्ठ अर्यालले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जानकारी दिएका थिए। उत्पादन भइसकेका, बिक्री वितरणका लागि डिष्ट्रिव्युटरमा पुगेका र उत्पादन हुने अवस्थामा रहेको औषधिले नेपालको आठ महिनाको माग धान्ने अवस्थामा रहेको जानकारी दिँदै उहाँले बुधबारदेखि दैनिक एक लाख मास्कको उत्पादन थालिने बताए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोग्यवस्तुको कृत्रिम अभाव र कालोबजारी हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरेर संयुक्त रुपमा बजार अनुगमन गर्ने गरिएको बताए।-रासस
 

कमेन्ट लोड गर्नुस