छोरालाई विदेश पठाउने इच्छा पूरा नहुँदै धनगढी पुगेर अस्ताए भैरव
धनगढी : भारतको दिल्लीबाट घर फर्किएका भैरवजंग पाण्डेले कैलालीको गौरीफन्टा नाका पुगेर बीहिबार छोरालाई फोनमा भनेका थिए, ‘बाबु म नेपाल पुगिसके काठमाडौँ पुग्ने बित्तिकै तिमीलाई फोन गर्छु आफ्नो ख्याल राख है।’ एकछिन अघि दिल्लीबाट छोरा अनुजले फोन गर्ने बेला भैरवले पैँसा कम परेको पनि सुनाएका थिए। बैँकबाट गरी २५ हजार झिक्न अनुजले सुझाए। ब्लड प्रेसर र मृगौलाको विरामी बुबाको स्वास्थ्यको ख्याल गरिराख्थे अनुजले मन नथामिएपछि फोनबाटै फेरी सोधेका थिए, ‘बुबा तपाईलाई कस्तो छ अहिले ?’ भैरवले जवाफ दिदै भनेका थिए, ‘मलाई ठिक छ बाबु, अलीकती ब्लड प्रेसर उच्च जस्तो भयो खाना खाएन त्यसैले पनि होला। भुजा खान जादैछु तिमी आफ्नो ख्याल राख अहिले मलाई ठिकै छ।’
०००
बुबासंग टेलिफोनमा संवाद भएको एक घण्टा बित्न नपाउदै धनगढीमा चलिरहेको रिक्सामा बेहोस भएका मृत्यु भएको समाचार फेसबुक मार्फत भाईरल भयो। सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले पनि भैरवको मृत शरिरको फोटो र नेपाली नागरिकताको प्रतिलिपी सार्वजनिक गर्दै हेल्प पोष्ट हालेको अनुजले देखे। एकछिन अगाडी फोनमा संवाद गरेका बुबा आखिर यो अवस्थामा कसरी ? अनुजलाई विश्वास लागेन। हतारहतारमा भण्डारीको इनबक्समा म्यासेज पठाएर घटना बारे सोधीखोजी गरे। फेरी विश्वास गर्न सकिरहेका थिएनन् उनी। काठमाडौँ पुगेर टेलिफोन गर्छु भनेका बुबा कहिल्यै नभेट्नेगरी अस्ताएको कुरा अन्ततः विश्वास गर्नैपर्ने भयो अनुजले। दिल्लीबाट बहिनी सहित बीहिबार हिडेका अनुज शुक्रबार बिहानै धनगढी पुगे। भण्डारीकै सहयोगमा अनुज बहिनी सहित सेती प्रादेशिक अस्पताल पुगे र शव गृहमा लडिरहेको बुबाको मृत शरिर देखेर भक्कानीए दुवै जना। अनुज र उनकी बहिनीले बुबा बुबा भनेर बोलाउँदा पनि सुनेनन् भैरवले।
०००
नुवाकोटको विदुर नगरपालिका घर भएका भैरवजंग पाण्डे सन् २००५ देखि सपरिवार दिल्लीमै बस्दै आएका थिए। नेपाली सेनामा जागिर समेत गरिसकेका उनी नुवाकोट छोरालाई विदेश पठाउन आवश्यक पर्ने कागजपत्र बनाई प्रक्रिया बुझ्न भनी नेपाल आएका थिए। दुईवटा विवाह गरेका भैरवकी जेठो श्रीमती र दुई जना छोराछोरी नुवाकोटमा बस्दै आएका थिए भने उनी कान्छी श्रीमती र छोराछोरी सहित दिल्लीमा। जेठी श्रीमतीले अंशबण्डाका लागि अदालतमा हालेको मुद्दाको फैसला भईसकेको रहेछ। उनी नेपाल फर्किनुको अर्को उद्देश्य अंशबण्डा गर्नु पनि थियो।
आँखाका आसु थाम्दै अनुजले भने, ‘जग्गा नामसारी गर्न र अंशबण्डा गर्छु भनी नेपाल आउनुभएको थियो, जेठी आमा र दिदीलाई अंश दिन।’ दिल्लीबाट नेपाल निस्कने क्रममा छोरालाई उनले भनेका थिए, ‘अब घर परिवार तिमीले नै हेर्ने हो, गाह्रो हुन्छ होला। त्यसैले तिम्रो वैदेशिक रोजगारीमा जाने विषयमा बुझेर आउँछु।’ अनुज दिल्लीमा वैदेशिक रोजगारीमा जान छुट्टै कोर्ष गरिरहेका थिए।
०००
२०१२ मा गम्भीर विरामी भएका भैरव ४५ दिने उपचारपछि पूर्ण रुपमा स्वस्थ भएका थिए। फेरी पटक–पटकको विरामीले उनको मृगौलामा समस्या देखियो। मृगौलाले काम गर्न छोडिसकेकाले नियमित डायलासिस गराउदै आएका थिए उनी। उच्च रक्तचापको समस्याले ग्रसित भएका कारण नियमित औषधी सेवन गर्थे। स्वास्थ्यकै समस्याका कारण रोजगारी गर्न नसकेपछि अनुजलाई परिवार सम्हाल्नुपर्ने स्थिती आईसकेको थियो। त्यो विषयमा भैरव पनि चिन्तित थिए। प्राविधिक विषय पढेका अनुज र उनको दिदी पनि दिल्लीमै जागिरे छन्। उनीहरुको माषिक आम्दानीले परिवारको खर्च जसोतसो चलेकै थियो। तर भैरव भने छोरालाई वैदेशिक रोजगारीमा पठाउने सपना पूरा गर्न नपाउँदै यो संसारबाट सदाका लागि विदा भईसकेको छन्।
०००
अनुज अहिले बुबाको मृत शरिर लिन धनगढी आईपुगेका छन्। उनी बुबाको शव परिक्षणको रिर्पोटको पखाईमा छन्। तर उनको बुबाले आफ्नो मृत शरिरको अन्तिम संस्कार नेपालमै गर्नु भन्दै आएका थिए। पशुपती आर्यघाटमै आफ्नो अन्तिम संस्कार गर्नु भन्ने बुबाको अन्तिम इच्छा पूरा गर्नुपर्ने घडीमा उनी छन्।