होलीको रंग नमेटिदै अस्ताए डडेल्धुराका भण्डारी
धनगढी: ‘अल बिदा दाई, एक छिन अगाडी होलीको रंग लगाउन नदिएर मैले ठूलो भुल गरे जस्तो लाग्यो। तिमीले अहिले नै संसार छोडछौ भन्ने कल्पना गर्न सक्दैन्। हजुरले डडेल्धुराका लागी गरेका काम सधै सम्झिनेछु।’ सोमबार साँझ ५ बजे डडेल्धुराका पत्रकार ललित बोहराले लेखेको स्ट्याटस हो यो। सोमबार दिनभरी होली खेलेर रमाएका डडेल्धुरा नेविसंघका कार्यवाहक सभापति पदम भण्डारीको निधनका खवर फैलियो तर धेरैले विश्वास गर्न सकेनन्।
तर डडेल्धुरा अस्पतालका डाक्टरले नै मृत घोषित गरिसकेपछि अव भण्डारीको मृत्युको खवर झुटो हुन सक्दैन भन्नेमा विश्वस्त हुनुको विकल्प पनि छैन्। सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका भण्डारी मृत भेटिएका थिए।
फेसवुकमै उनी साथी अस्मिता भाटले लेखेकी छिन्, ‘अघि भर्खर भनेउ भोली बिहानै पुग्छु तिम्रो बिहेमा! आशा निराशा मा परिवर्तन भयो, विश्वास लागिरहेको छैन् साथी। यहाँ पलभरमै के–के हुन्छ। तिम्रो आत्मालाई शान्ति मिलोस मेरो दोस्त।’ बुधवार अस्मिताको विहे थियो पदमले मंगलवार नै बिहेको तयारीका लागि पुग्ने खबर गरेका थिए सायद।
सँगै दिनभर होली खेलेका उनका साथी सजनसिँह ठकुरी भन्छन, ‘हामी सँगै थियौ, बजारभरी होली खेलेर मोटरसाइकलमा तुफानडाँडा गएका थियौ। त्यसपछि नुहाउन जाने योजना भयो। हामी केही साथी खोलातिर लाग्यौ, पदम र अन्य साथी भने नुहाएर क्रिकेट खेल्ने योजनामा थिए।’ ‘त्यसपछि छुट्टिएर खोलामा नुहाउँदै गर्दा फोनमा नराम्रो खबर आयो, हामी अहिले पनि पत्याउनै सकिरहेका छैनौ’ उनले भावुक हुँदै भने।
जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्वर १ बयडाका भण्डारी कलिलो उमेरमै सामाजिक कार्यमा सक्रिय थिए र राजनीतिमा पनि उज्वल भविष्य खोजिरहेका थिए। उनको मृत्युले समग्र डडेल्धुरा जिल्लालाई ठूलो क्षति पुगेको बताउँछन्, जेसिज डडेल्धुराका अध्यक्ष तथा पत्रकार बरुण पनेरु। उनले भने, ‘भण्डारीको सामाजिक कार्यमा सक्रियता निकै बढि थियो। जोगबुढामा झाडापखालाको प्रकोप फैलिएको समयमा उनले गरेको कार्य कहिल्यै बिर्सिन सकिन्न। आज डडेल्धुराले होनहार युवा गुमाएको छ। उनको मृत्युले समग्र डडेल्धुरावासी स्तब्ध छन्।’
पछिल्ला केही वर्षयता डडेल्धुरावासीका हरेक पीडामा मल्हम लगाउन सक्रिय थिए भण्डारी। उनले बेला–बेला रक्तदान कार्यक्रमको आयोजना गरेर धेरेको ज्यान जोगाए भने जिल्लामा कपडा बैंक खोलेर विपन्न समुदायका सारथी समेत बने। थुप्रै क्रिकेट प्रतियोगीता खेलिसकेका उनी एउटा राम्रो खेलाडी समेत थिए।
बाथरुममा बेहोस भेटिएका भण्डारीलाई डडेल्धुरा अस्पतालमा मृत घोषित गरिएको थियो। डडेल्धुरा प्रहरीका अनुसार उनी ग्यास ग्रीजर चलाएर नुहाउन लागेका थिए। घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए।