कैलालीमा लागुऔषधको कारोवार नियन्त्रणमा चुनौती
कैलाली प्रहरीको तथ्याङक अनुसार जिल्लामा वार्षिक ३६ करोडको लागू औषध भित्रिने गरेको छ। एकजना लागु औषध प्रयोगकर्ताले प्रती डोजमा १२ सयदेखि २ हजार रुपैँया खर्च गर्दै आएको प्रहरीले बताउदै आएको छ। जिल्ला प्रहरी कार्यालयकका अनुसार जिल्लाका तीन हजार पाँच सय भन्दाबढि लागु औषधका प्रयोगकर्ता छन्।
तर कारोबारीको तथ्याङक भने प्रहरीले अहिले सम्म संकलन गर्न सकेको र्छैन्। प्रहरीले लागु औषध प्रयोगकर्तालाई पक्राउ गर्ने गरेपनि कारोबारीलाई उन्मुक्ती दिदै आएको आरोप लाग्ने गरेको छ। तर जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘हामीले कानून अनुसार कारवाही गरिरहेका छौँ’ नियन्त्रणमा लिईएका सेवनकर्ता र कारोवारीलाई शिघ्र कारवाही भईरहेको छ।’ बस्नेत भन्छन्, ‘पछिल्लो समयमा लागु औषध प्रयोगकर्ता पक्राउ पर्ने क्रमपनि बढी छ, अहिले धेरै हद सम्म लागु औषध नियन्त्रणमा पनि आएको छ।’
लागु औषध प्रयोगकर्ता र कारोवारी पक्राउ परेपनि समान्य तारेखमा छुट्ने गरेका कारण नियन्त्रण गर्न चुनौती थपिदै गएको छ। पक्राउ परेकाहरुलाई कानून अनुसार कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। तर पनि पक्राउ पर्नेहरुमा अधिकांश व्यक्तिहरु धरौटी र सामान्य तारेखमा रिहा हुने गरेका कारण लागु औषधको कारोवारी र सेवनकर्ता घटाउन नसकिएको हो।
‘प्रहरीको अनुसन्धानपछि अदालत पेश गर्दा कोही धरौटीमा छुट्ने र कसैलाई कारागार चलान गरेपनि कैद भुक्तान गरी फेरी लागु औषधकै कारोवार गर्ने गरेको पाईन्छ’ जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायब उपरिक्षक बस्नेतले भने, ‘कारोवारी कोलाई भन्ने, यहाँ हामीले जतिपनि समाईरहेका छौँ त्यसमा आफू पनि सेवन गर्ने र वेचविखनमा सक्रिय व्यक्तिहरु नै पक्राउ परिरहेका छन्।’
सीमावर्ती भारतीय बजारहरुमा सहज रुपमा लागू औषध पाइने भएकाले नियन्त्रणका लागि चुनौती थपिदै गएको प्रहरीले जनाएको छ। विगतमा भारतीय प्रहरीको सहकार्यमा लागु औषध सेवकर्ता तथा कारोवारीलाई नियन्त्रणमा लिएपछि केही सुधार भएको दावी कैलाली प्रहरीले गरेको थियो। तर व्राउन सुगर, नाईट्रोभेट लगायतका अन्य लागु पदार्थ सेवनकर्ता र कारोवारीको संख्या बढ्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले अहिले पनि भारतिय प्रहरीसंग सहकार्य भईरहेको जनाएको छ। लागु औषध प्रयोगकर्ता बढेसंगै समाजमा अपराधिक क्रियाकलापहरु पनि बृद्धि हुदै गएका छन्। सामान्य प्रयोकर्ताहरु प्रहरीको नियन्त्रणमा पर्ने गरेको भएपनि कारोवाहीहरुलाई नियन्त्रण गर्न प्रहरी उदासिन बन्ने गरेको आरोप लाग्दै आएको छ। तर जिल्ला प्रहरी कार्यालय कैलाली भने सेवनकर्ता र कारोवारीहरु अलग नभएको दावी गर्दै आएको छ। खुल्ला सीमा नाका मुख्य समस्या रहेको प्रहरीको भनाई छ।