धनगढी–स्याउले सडक खण्ड कालोपत्रेको योजना अलपत्र
धनगढी–दीपायल द्रुत मार्गका योजना प्रमुख खगेन्द्र शाहीले दिनेश खवरसंग कुराकानी गर्दै एक महिना अगाडी माघ २७ गते मात्रै धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाको सहयोगमा डिपिआर बनाउने सहमती भएको बताएका थिए। तर अहिले आएर योजना प्रमुख शाहीले डिपिआर अर्थात विस्तृत परियोजना प्रतिवेदन चार वर्ष अगाडी नै बनेको बताएका छन्। तर ठेक्काका लागी बजेट अभाव रहेको भन्दै उनी चालु अािर्थक वर्षमा ठेक्का हुने सम्भावना नभएको बताउन थालेका छन्।
जसका कारण धनगढी–दीपायल द्रुतमार्गको हसनपुर–स्याउले सडक खण्डको झण्डै १० किलोमिटर सडक कालोपत्रे गर्ने योजना अझै अलपत्र परेको छ। चालु वर्षमै संघिय सरकारले कालोपत्रे गर्ने भनिएको सडक खण्डको काम अलपत्र परेको छ। अहिले बजेट अभावको कारण देखाउँदै कालोपत्रे गर्ने योजनाबाट सम्बन्धीत निकाय पछी हटिरहेका छन्।
बजेट भाषणमा सुरुङ मार्गका आश्वासन बाडिएपनि अहिले आएर सडक नै कालोपत्रे गर्नका लागि समेत बजेट अभावको समस्या देखाईएको छ। योजना कार्यालय पनि विभिन्न बाहना बनाएर पन्छिने प्रयासमा छ। कहिले योजनाको डिपीआर नै बनाउन बाँकी रहेको भन्दै पन्छिरहेको छ भने कहिले बजेट अभावको समस्या देखाएर पन्छिरहेको छ।
धनगढी–दीपायल द्रुत मार्गको योजना अलपत्र परेको अवस्थामा संघीय सरकारले भने द्रुत मार्गको स्थानमा सुरुङ मार्ग नै बनाउने घोषणा गरेको थियो। तर अहिले आएर द्रुत मार्ग अन्तरगतको १० किलोमिटर सडक निर्माणका लागि पनि बजेट अभाव रहेको भन्दै पन्छिने प्रयास गरिएको छ।
संघीय सरकारले चालु आर्थिक वर्षका लागि २२ करोड बजेट विनियोजन गरेकोमा योजना कार्यालयले निर्माण कम्पनीलाई विगतकै २९ करोड भुक्तानी दिनै बाँकी रहेको छ। बहुबर्षिय ठेक्का आह्वानका लागि रकम मागको चरणमा योजना कार्यालय छ। तर चालु अर्थिक वर्षमा ठेक्का सम्झौता नहुने पक्का भएको छ।
तर दु्रत मार्गको धनगढी–स्याउले खण्डलाई चुनावी नारा बनाएका कैलालीबाट प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले चालु आर्थिक वर्षमा ठेक्का हुने बताएका छन्। हसनपुर स्याउले खण्ड धनगढी–दीपायल द्रुतमार्गमा परेपछि सरकारी निकायले विभिन्न बाहना बनाएर स्थानीयलाई झुक्याउने समेत गरेका छन्।