डोटीको जोरायल गाउँपालिकामा चैत्र १० सम्म परिक्षा सञ्चालन हुने
डोटी: विज्ञान तथा प्रविधि मन्त्रालयलले ५ गते भित्र वार्षिक परिक्षा सम्पन्न गर्ने आदेश दिए पनि जोरायल गाउँपालिकाले त्यो अवधिमा सम्पन्न गर्न नसक्ने जनाएको छ। जोरायल गाउँपालिकाले वार्षिक परिक्षा चैत्र २ गते सञ्चालन गरि १० गते मात्रै सम्पन्न गर्ने निर्णय गरेको छ। प्रश्नपत्र तथा उत्तरपुस्तकाको छपाइ लगायतका तयारीहरु पुरा नभएकोले परिक्षा मिति ढिला हुन गएको शिक्षा शाखा प्रमुख तेजबहादुर खत्रीले बताए।
यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले फागुन २० मा सुचना जारी गरि चैत्र ५ गते भित्र कक्षा १ देखी ९ सम्मको वार्षिक परिक्षा सम्पन्न गर्न आदेश दिएको थियो। विश्वभर कोरोना भाइरसको संक्रमण र त्रास फैलिएको अवस्थामा आवश्यक सतर्कता अपनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयले विद्यालयमा सभा, भेला, समारोह, वार्षिकोत्सव लगायतका कार्यक्रमहरु समेत नगर्न निर्देशन दिएको छ।
डोटीका अन्य ८ वटा स्थानीय तहहरुले भने ५ गते भित्रै परिक्षा सम्पन्न गर्ने गरि तयारी पुरा भएको जनाएका छन्। चैत्र ६ गतेबाट एसईई परिक्षा सञ्चालन हुने भएकाले समेत ५ गते भित्र परिक्षा सम्पन्न गरिसक्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ डोटीका प्राविधिक सहायक पदम साउँदले बताए।