सुदूर नेपाललाई विश्वसँग जोड्दै

टाउकोमा ट्युमर भएकी डडेल्धुराकी कलावतिको पुकार- 'मलाई बचाइदिनुस्'

२०७६ फाल्गुन २४, ०२:१७

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–८ की कलावतीकुमारी ढाँट उपचारको पर्खाइमा बसेकी छन्। उनी अहिले २३ वर्षकी भइन्। उनको घरमा अहिले तीनजना छन्। उनका बुबा, भाइ र आफू। ढाँटकी दिदीको गत वर्ष बिहे भएको थियो भने आमाको टाउकोमा ट्युमर हुँदा गत वर्ष उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको थियो।

गरिबीका कारण एकातिर ढाँटको परिवार पिल्सिएको छ भने अर्कोतिर कलावतीको टाउकोमा ट्युमर र नसा सुकेकोले उनी उपचारको लागि सहयोग खोज्दै हिँडिरहेकी छन्।

‘कक्षा १२ सम्म आमाबुवाले जसोतसो गरेर त पढाएँ। त्यसपछि उपचार गराउँदा गराउँदै आमाको पनि मृत्यु भयो।’ गहभरी आँसु बनाउँदै उनले भनिन्, ‘गरिबीकै कारण पढाइ छोडे र काम गर्न काठमाडौँ गएँ। काठमाडौँ गएर केही समय काम गर्न नपाउँदै एक्कासि बिरामी भएँ। वीर अस्पतालमा उपचार गराउँदा टाउकोमा ट्युमर र नसा सुकेको देखियो।’

वीर अस्पतालमा डाक्टरले उपचार सम्भव नभएको र दिल्लीमा गएर उपचार गर्ने सुझाव दिएको उनले सुनाइन्। ‘एकातिर परिवारको आर्थिक अवस्था कमजोर छ अर्कोतिर म बिरामी छु। भाइ पनि कक्षा १२ मा पढ्छ। बुबाले खेती किसानी गर्नुहुन्छ।’ उनले थपिन्, ‘परिवारको छाँक टार्नेकी भाइलाई पढाउने की मेरो उपचार गर्ने समस्यामा हुनुहुन्छ।’

वीर अस्पतालमा उपचार गर्दा जसोतसो ३ लाख जम्मा गरेर उपचार गरेको भएपनि वीर अस्पतालमा उपचार सम्भव नभएपछि त्यहाँका डाक्टरहरुले आफूलाई दिल्ली गएर उपचार गराउन सुझाव दिएको उनले बताइन्।

‘आमाको उपचार गराउँदा भएभरको सम्पत्ति सबै सकिँयो। त्यसपछि म पनि बिरामी भएँ। अब उपचार कसरी गर्ने। भगवानले पनि हामी गरिबहरुलाई नै ठग्ने रहेछ।’ उनले भनिन्, ‘दिल्लीमा उपचार गराउँदा ८/१० लाख जति चाहिन्छ भनेको छ। त्यसैले म सहयोगको पर्खाइमा बसेकी छुँ। म बाँच्न चहान्छु। मलाई बचाइदिनुस्।’

कलावतीकुमारी ढाँट अहिले सहयोगको खोजीमा आफैं भौतारी रहेकी छन्। अहिले उनी आपूm बिरामी भएपनि सहयोग खोज्न विभिन्न विद्यालय तथा संघ संस्थामा धाइरहेकी छन्। थुप्रैले सहयोग गर्ने आश्वासन दिएको उनले बताइन्।

सहयोगको खोजीमा अमरगढी नगरपालिका जाँदा नगरप्रमुख विशेश्वरप्रसाद ओझाले धेरै पैसा नगरपालिकाले सहयोग गर्ने नसक्ने भएपनि अपचार गराउँदाका बिलहरु आफूकोमा ल्याएपछि प्रदेश र संघ सरकारसँग समन्वय गरिदिने बताएको उनले सुनाइन्।

नगरप्रमुख ओझाले आफू जनताको जनप्रतिनिधि भएकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसको बारेमा कार्यपालिका बैठकमा प्रस्ताव पेस गर्ने उनको भनाइ छ। उनले भने, ‘उहाँको (ढाँट) उपचारका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर जति सक्दो सहयोग गर्नेछु।’

अहिले उनि आर्थिक सहयोगको खोजीमा विभिन्न विद्यालय तथा संघ संस्थामा पुगिसकेकी छन्। विभिन्न संघ संस्था तथा विद्यालयबाट अहिलेसम्म सहयोग नपाएपनि आश्वासन पाएको उनको भनाइ छ।

आर्थिक सहयोगको लागि अपिल
गाउँघरमा आफन्त, छरछिमेकबाट पैसा जुटाउँदा पनि चिकित्सकले भनेअनुसार पैसा जुट्न नसक्ने भएकाले उनले आर्थिक सहयोगको लागि अपिल गरेकी छन्।

उनले आफूलाई बचाउन सबैलाई अनुरोध गरिन्। गहभरी आँसु बनाउँदै उनले भनिन्, ‘म सहयोगको पर्खाइमा बसेकी छुँ। म बाँच्न चहान्छु। मलाई बचाइदिनुस्।’

आर्थिक सहयोग गर्न चाहानेहरूले कलावतीकुमारी ढाँटको नाममा रहेको एनआइसी एसिया बैंक डडेल्धुरा शाखाको खाता नंं २५८७००३२७४१५२४०१ मा रकम जम्मा गर्न सकिनेछ।

कमेन्ट लोड गर्नुस