आधुनिकीकरण नहुँदा डडेल्धुराका तामा व्यवसायी सङ्कटमा
आधुनिकीकरण र कच्चापदार्थ अभावले डडेल्धुराका तामा व्यवसायी सङ्कटमा परेका छन्। समयअनुसारको सीप र दक्षता नहुँदा तथा विकल्पमा अरू पेशा पनि नभएकै कारण तामाको काम गर्ने ताम्राकारको पेशा सङ्कटमा परेको हो।
तामा सहज रुपमा बजारमा नपाइने हुँदा पनि व्यवसाय सञ्चालन गर्नका लागि समस्या भएको उनीहरुको गुनासो छ। तामाको कच्चा पदार्थका लागि नेपालगञ्ज वा भारत जानुपर्ने बाध्यता छ। पछिल्लो समय तामाका भाँडाकुँडाको विकल्पमा बजारमा प्लास्टिक र स्टिलका सामग्रीको प्रयोगले पनि आपूmहरुको पेशा सङ्कटमा पुगेको उनीहरुले गुनासो गरेका छन्।
तामा व्यवसाय सङ्कटमा परेपछि यहाँका युवा भारत वा अन्य तेस्रो मुलुक जान बाध्य भएको अमरगढी–६ छचोडाका गङ्गाराम ताम्राकारले बताए। यहाँ उत्पादन गरिएको तामाका भाँडाकुँडा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशसम्मलगायत विभिन्न स्थानमा निर्यात हुने गरेका छन्।
डडेल्धुरामा करिब २०० दलित परिवार तामा व्यवसायमा संलग्न रहेका छन्। युवा पुस्ताले नयाँ पेशाको खोजी गर्न थालेपछि तामाका भाँडाकुँडा बनाउने काम हराउँदै गएको अमरगढी नगरपालिका–६ का व्यवसायी दिलीप ताम्राकारले बताए।
तामाको कच्चा पदार्थलाई गलाई हठौडाले ठोकी ताम्राकारहरुले भाँडाकँुडा बनाउँदा निकै मेहनत गर्नुपर्ने र शारीरिक रुपमा पनि निकै बल प्रयोग गर्नुपर्ने भएकाले नयाँ पुस्ता यसमा रुचि नराख्ने गरेको उनले बताए।
राज्यले आफूहरुको सीप र कलाको उचित मूल्याङ्कन नगरेको उहनको भनाइ छ। समयानुसार पेशालाई अधुनिकीकरण गरेमात्र तामाको व्यवसाय फस्टाउन सक्दछ।-रासस