मुख्यमन्त्री भट्टका प्रदेश सपना
धनगढी : ‘सुदूरपश्चिमवासीले कहिले सम्म रोजगारीका लागि भारत धाउनु पर्ने हो?’ धनगढीमा जारी विश्व नेपाली साहित्यमा महोत्सवमा सहजकर्ता, पत्रकार मनमोहन स्वारको प्रश्न थियो, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई।
मुख्यमन्त्री भट्टले जवाफ दिदै भने, ‘कार्यकालको दुई वर्ष मात्रै त पूरा भएको छ। ईच्छाशक्ति हुँदा हुँदै पनि धेरै गर्न सकिएको छैन्। तर भारतमा भोग्नुपर्ने सबै दुख मैले पनि भोगेको हुँ। सबै सरकारले उद्येश्यभ स्वेदशमै रोजगारीको वातावरण मिलाउनु नै छ हाम्रो पनि त्यही छ।’
भारतमा रोजगारी गर्दा गर्दाै राजनीतिमा सक्रिय भएका मुख्यमन्त्री भट्टको चुनावी प्रतिवद्धता नै रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटाउने थियो। कार्यक्रममा मुख्यमन्त्रीको पहिलो सपना बारे पनि प्रश्न गरियो र उनले जवाफ दिदै भने, ‘सुदूरपश्चिम विगतदेखि अन्य प्रदेशको तुलनामा पछाडी रहेकाले यस प्रदेशलाई विकासको मुल बाटोमा जोड्ने सपना नै पहिलो हो। तर प्रदेशवासीको चाहना बुझ्नमै लागेको ढिलाईले समस्या भएको छ।’
महोत्सवमा दुई वर्षको कार्यकाल वितिसक्दा प्रदेश सरकारको अनुभुती गर्न नसकेको बताउँदै सहभागीले मुख्यमन्त्री भट्टलाई, बाँकी कार्यकालमा प्रदेशको विकास र समृद्धिका लागि बाडिएका सपना कत्तिको पूरा गर्न सकिन्छ भनेर पनि प्रश्न गरे। जवाफमा मुख्यमन्त्री भट्टले अबका वर्षमा प्रदेशवासीका सपना पूरा गर्न सक्रिय भएर लाग्ने बताए।
अबका दिनमा कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्ने, देशकै बढी जलविद्युत उत्पादन गर्न सक्ने क्षमता रहेको प्रदेशमा जलविद्युतका योजना अगाडी बढाउने, प्रदेशलाई पर्यटकिय हब बनाईने, पर्यटकका माध्यमबाट गाउँगाउँमा रोजगारी श्रृजना गरीने, प्रदेशका बिभिन्न स्थानमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने लगायतका सपना विश्व नेपाली साहित्य महोत्सवमा मुख्यमन्त्री भट्टले बाडे।
सुदूरपश्चिम प्रदेश स्तरीय विश्वविद्यालय स्थापनाको विषय किन ओझेलमा परेको भन्दै मुख्यमन्त्रीलाई सहभागीबाट गरिएको प्रश्नमा मुख्यमन्त्री भट्टले प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्न सक्ने प्रावधान रहेपनि गहन छलफलमा रहेकाले टुङ्गोमा लाग्न नसकेको बताए।
प्रदेशमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई नै प्रदेश मातहत ल्याउने की नयाँ खोल्ने भन्ने विषयमा छलफल भएपनी टुङ्गोमा लाग्न नसकिएको उनले बताए। धरासायी बनेको सुदूरपश्चिमाञ्चल विश्वविद्यायको गुणस्तर सुधार गर्दे प्रदेश मातहत ल्याउने प्रक्रिया अगाडी बढाईने उनले बताए।