सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपीले किर्ते गर्ने व्यवसायीलाई जोगाउन खोज्दा कैलाली प्रहरीमा खटपट !

२०७६ फाल्गुन १७, ०७:४२ जनक विष्ट

धनगढी : धनगढीका औषधी व्यवसायी दुस्यन्त बस्नेत धरौटीमा छुटेपछि उनलाई जोगाउन प्रहरी नै सक्रिय भएको आशंका बढेको छ। प्रहरी आफै मुद्धालाई कमजोर बनाउन सक्रिय भएपछि पुर्पक्षका लागि थुनामा हुनुपर्ने बस्नेत एक लाख १० हजार धरौटीमा रिहा भएको भन्दै प्रहरीको भुमिकामाथि आशंका बढ्दै गएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरी र अनुसन्धान अधिकृत समेत रहेका प्रहरी निरिक्षक प्रकास कार्की नै बस्नेतविरुद्धको मुद्धा कमजोर बनाउन सक्रिय रहेको समाचार स्रोतको दावी छ। 
                                                                                                 ०००
सुदूरपश्चिमको औषधी व्यवसायमा वषौँदेखि एकछत्र राज गरेका अमित मेडिसिन डिस्ट्रीब्युटर्सका सञ्चालक हुन् दुस्यन्त बस्नेत। सुदूरपश्चिमका प्रायसरकारी अस्पतालमा टेण्डर पार्दै वषौँदेखि औषधी आपूर्ती गर्दै आएका बस्नेत टेण्डर पाउनै लागि कर चुक्ता प्रमाण पत्र किर्ते गरेको कुरा बाहिरियो।

कैलालीको गेटा आँखा अस्पतालको गत वर्षको औषधी खरिदको टेण्डर पाउँन उनले पेश गरेको कर चुक्ता प्रमाण पत्र कित्र्ते गरेको भेटिएपछि उनको कर्तुत सार्वजनिक भयो। अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालय धनगढीबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो।

सो प्रमाणपत्रमा कर अधिकृत रामबोली साम्बाहाम्फले हस्ताक्षर थियो। तर उनी २०७४ असोजमै धनगढीबाट सरुवा भइसकेका देखिएपछि कर चुक्ताको प्रमाणपत्र किर्ते रहेको राजश्वले पुष्टि ग¥यो। सरुवा भएका कर अधिकृतको हस्ताक्षर स्क्यानिङ गरी मेडिसिनले कर चुक्ताको प्रमाणपत्र बनाईएको भन्दै उजुरी नै परेपछि आन्तरिक राजश्व कार्यालयले गेटा आँखा अस्पतालबाट कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

१६ मंसिरमा कैलाली प्रहरीले अमितका सञ्चालकद्धय दुस्यन्त बस्नेत र प्रदिप अग्रवाललाई पक्राउका लागि जिल्ला अदालतबाट अनुमती पायो। त्यती बेला धनगढीमै रहेका बस्नेत र अग्रवाललाई प्रहरीले तत्काल पक्राउ गर्न कुनै तदारुकता देखाएन्। बरु प्रहरीले मिडियालाई रेडिमेट जवाफ दिदै भन्यो, ‘उनीहरु फरार भईसकेकाले पक्राउ गर्न सकिएन्। तर खोजी जारी छ।’ तर बस्नेत बेला–बेला धनगढी खुलेआम आउजाउ गरिरहन्थे। 

                                                                                               ०००
बस्नेतले धनगढी आउजाउ मात्र गरेनन्, ढाई महिनाको अवधीमा जिल्ला प्रहरी कार्यालय कैलालीको संग्लनतामा सबै सेटिङ मिलाए। त्यसमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले मुख्य भूमिका खेलेको आरोप छ। सबै सेटिङ मिलिसकेपछि अमित मेडिसिनका सञ्चालक मध्येका एक बस्नेत माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भए।'

कानून व्यवसायी सहित प्रहरी कार्यालयमा उपस्थित भएका बस्नेतले आफ्नो मेडिकल रिर्पोट साथमै बोकेका थिए। जुन प्रहरी अधिकारीसँगको समन्वयमै भएको थियो। लगत्तै प्रहरीले बस्नेतको स्वास्थ्य परिक्षणका लागि सेती प्रादेशिक अस्पताल लग्यो।

अस्पतालले पनि बस्नेतको मेडिकल रिर्पोट अनुसार नै पायल्स र सुगरको समस्या देखाउँदै अन्यत्र रेफर गरिदियो। उनी धनगढीको सीपी अस्पताल भर्ना भए। 
                                                                                             ०००
सरकारी कागजात र दस्तखत कित्र्ते गरेको अभियोगमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरी स्वास्थ्यको समस्या देखिएपछि बस्नेत सीपी अस्पतालको क्याविन नम्बर ४ मा भर्ना भएका थिए। प्रहरी हिरासतमा हुनुपर्ने बस्नेत भीआईपी सुविधाको शैलीमा नीजि अस्पताल भर्ना मात्रै भएनन् उनको निगरानीको जिम्मा समेत प्रहरीले लिएन्।

अभियुक्तलाई प्रहरीले आफ्नो निगरानीमा राख्नुपर्ने कानूनी प्रावधानको समेत ख्याल नगरी कैलालीका एसपी सुदिप गिरीले बस्नेतलाई अस्पतालमा वेवारिसे छोडिदिए। बस्नेत अस्पताल भर्ना भएको कुरा सुनेपछि सीपी अस्पताल पुगेका केही पत्रकारलाई मुकुण्डोधारी समूहले फोटो खिच्न रोक लगायो।

एसपी गिरीले त्यती मात्रै गरेनन्, दुस्यन्त प्रकरणमा सोझै डिल गरेर आफ्नै जुनियर प्रहरी अधिकृतहरुलाई गुमराहमा राखे। त्यसको उदाहरण हुन् उनकै प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेत। 

                                                                                          ०००
दुस्यन्त बस्नेतलाई हिरासतमा नराखेरै अस्पताल भर्ना गरिएको विषयमा सञ्चार माध्यम मात्रै होईन जिल्ला प्रहरी कार्यालयकै धेरै प्रहरी अधिकृत बेखबर थिए, ५ दिन सम्म। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतलाई समेत त्यस्को जानकारी नदिईएको स्वयम बस्नेतले बताउँदै आएका छन्।

पाचौँ दिन सम्म दुस्यस्त बस्नेतलाई हिरासतमा नराखेर अस्पताल किन भर्ना गरिएको भन्ने विषयमा प्रहरी नायब उपरिक्षक बस्नेत अनभिज्ञ देखिए। उल्टै पत्रकारलाई सोधे, ‘अस्पताल भर्ना भएका छन् र ? होईन् होला। हिरासतमै छन्।’ एकैछिन् बुझेर भन्छु भनेका प्रहरी नायब उपरिक्षक बस्नेतले केही समय फोन नै रिसिभ गरेनन्। जिल्ला प्रहरी स्रोतका अनुसार मिडियाकर्मीबाट बस्नेत हिरासतमा नराखिएको कुरा थाहा पाएपछि उनी सोझै प्रहरी उपरिक्षक गिरीको कार्यकक्षतीर हानिएका थिए।

पछि बस्नेतले मिडियाकर्मीलाई जवाफ दिए,‘स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको रहेछ। मैले पनि तपाईले भनेपछि जानकारी पाए।’ माघ २८ देखि नै अस्पताल भर्ना गरिएको भएपनि प्रहरी उपरिक्षक गिरीले प्रवक्ता बस्नेतलाई मिडियामा २९ गते मात्र अस्पताल राखिएको भन्न लगाए। तपाईलाई जानकारी नरहेछ यो विषयमा भन्दा प्रवक्ता बस्नेतले भनेका थिए, ‘प्रवक्तालाई सबै कुरा थाहा हुनुपर्छ भन्ने हुदैन् नी।’

मिडियामा खासै आउन नरुचाउने एसपीका कारण आफू समस्यामा पर्ने देखिएपछि बस्नेत लगत्तै विदामा बसेका छन्। बस्नेत प्रकरणमा एसपीसंगको खटपटका कारण प्रहरी नायव उपरिक्षक बस्नेत लामो विदामा बसेको स्रोतले बताउँदै आएको छ। जिल्ला प्रहरी कार्यालयका एकजना प्रहरी अधिकृतले भने, ‘डिएसपी सापलाई दुस्यन्त प्रकरणमा धेरै कुरा थाहा थिएन।

एसपी सापले आफै डिल गरिरहनुभएको थियो। अनुसन्धानको जिम्मा पनि प्रहरी निरिक्षक प्रकाश कार्कीलाई दिएको कारण पनि होला।’ प्रहरी नायव उपरिक्षक बस्नेत जागिर सुरु गरेदेखि सबैभन्दा लामो विदा बसेको यो नै पहिलो पटक हो। उनी १२ दिन लामो विदामा छन्।

धेरेले त प्रहरी नायब उपरिक्षक बस्नेत कैलालीबाट सरुवा हुने मुडमा पुगिसकेको दावी गर्दै आएका छन्। तर प्रहरी नायब उपरिक्षक बस्नेतले भने एसपीसंगको खटपटको कारण विदा लिएको भन्ने व्याख्या गलत भएको बताएका छन्। उनले पारिवारिक समस्याले लामो विदा बस्नुपरेको बताउँदै आएका छन्। 
                                                                                      ०००
झण्डै दुई महिना सम्म दुस्यन्त बस्नेतलाई पक्राउ नगरेको जिल्ला प्रहरी कार्याले अर्को हिम्मत गरेको पाईयो। त्यो हो, अस्पतालबाट डिस्चार्ज भएर पनि थुनामा नराख्नु। सीपी अस्पतालले बस्नेतलाई फागुन १४ गते डिस्चार्ज गरेको थियो। अस्पताल प्रशासनले बताएअनुसार १४ गते बिहानै बस्नेतलाई डिस्चार्ज गरिएको थियो तर उनी भने त्यसअघि नै अस्पतालबाट अन्यत्र गईसकेका थिए।

अस्पतालले डिस्चार्ज नगर्दा थुनामा राख्न नसकिएको बताउँने प्रहरीले त्यसपछि पनि थुनामा राखेन। बरु उनको निगरानीमा खटाएका प्रहरी हवलदार सहितका प्रहरीको संरक्षणमै दिनभरी खुलेआम घुमे। अस्पतालबाट डिस्चार्ज भईसक्दा समेत थुनामा नलिएपछि प्रहरीको मिलेमतोमा भूमिका सतहमा आएको दावी गरिएको छ। तर जिल्ला प्रहरी कार्यालयले १५ गते अस्पतालबाटै बस्नेतलाई लगेर अदालतमा उपस्थित गराएको दावी गरिरहेको छ।

यो विषय सार्वजनिक भएपछि आज मात्रै जिल्ला प्रहरी कार्यालयले सीपी अस्पताललाई अनुरोध गर्दै १४ गते अस्पतालमै रहेको लेखिमागेको छ। जसमा विरामीलाई अस्पतालबाट १४ गते रेफर गरिएको उल्लेख छ। तर सो दिन अदालत तारेख रहेकाले साँझ सम्म अन्यत्र जान नसकिएको भनिएको छ।

थप एक रात अस्पताल राखएिको दावी गरिएको छ। यद्यपी दिनेश खबरसंगको कुराकानीमा अस्पताल प्रशासनले १४ गते डिस्चार्ज गरिसकेको दावी गरेको थियो। १५ गते अस्पतालबाटै अदालत लगिएको प्रहरीको दावी छ। सोही दिन जिल्ला अदालत कैलालीले बस्नेतलाई एक लाख १० हजार धरौटीमा छाडेको थियो।
                                                                                 ०००
कैलाली प्रहरीको कमाण्ड सम्हालेपछि एक÷दुई पटक बाहेक प्रहरी उपरिक्षक सुदिप गिरी खासै मिडियामा आएनन्। संगठनको कुनै सफलतामा भने उनी आफै मिडिया सामू प्रस्तुत भएका उदाहरण भएपनि विवादित विषय भने जुनियर प्रहरी अधिकृतहरुकै जिम्मा छोडिदिन्थे।

लामो समय सीआईबीमा रहेर काम गरिसकेका उनले दुस्यन्त बस्नेतको कित्र्ते प्रकरणमा पनि मिडियाबाट ‘सेभ’ रहन खोजेको देखिन्छ।

जिल्लाका जुनियर प्रहरी अधिकारीले गरेका राम्रा÷नराम्रा विषय सोझै एसपीसँगै ठोक्किने भएपनि उनी आफू सधै मिडियाबाट जोगिने गरेका छन्। यो प्रकरणमा एसपीको प्रत्यक्ष संलग्नता र निर्देशनमा जुनियर प्रहरी अधिकारीलाई बाध्य भएर मतियार बनाईएको आरोप लागेपनि उनी त्यस बारे बोल्न चाहेनन्। सुरुमा टेलिफोनबाटै उनीसँग दिनेश खबरले प्रतिक्रिया माग्यो तर उनले भेटेरै कुरा गरौँ भन्ने प्रस्ताव राखे।

शनिबार जिल्ला प्रहरी कार्यालयमा गिरीकै कार्यकक्षमा दिनेश खबरकर्मी पुगेपनि औपचारिक रुपमा प्रतिक्रिया दिन उनले अस्वीकार गरे। बरु सो मुद्दाका अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरिक्षक प्रकाश कार्कीको प्रतिक्रिया लिन आग्रह गरेर पन्छीए।

तर प्रहरी उपरिक्षक गिरीमाथि जुनियर प्रहरी अधिकृतलाई गुमराहमा राखेको, मुद्दा कमजोर बनाउन भूमिका खेलेको लगायतका आरोप लागेका छन्। आफूमाथि लागेका आरोपबारे गिरी किन मौन बसे भन्ने कुरा खुलेको छैन्।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस