धर्तीको स्वर्ग अर्थात खप्तडको सौन्दर्यता (वृतचित्र सहित)
सरकारले वि.सं. २०४३ सालमा २ सय २५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएको हो । खप्तड राष्ट्रिय निकुञ्ज पुग्नका लागि बझाङको लामातोला वा डोटीको झिंग्रानाबाट जान सकिन्छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात रूखका थुम्काहरू छन् ।
निकुञ्जमा खासगरी वैशाखदेखि मंसीरसम्म पर्यटकहरु भ्रमणका लागि जाने भए पनि गंगा दशहरा मेलामा खप्तडमा ठुलो भीड हुने गरेको छ । गंगादशहरामा त्रिवेणीघाटमा नुहाएर पूजा गरे पाप पखालिन्छ भन्ने जनविश्वास छ ।
त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ भने सरस्वती नदी गुप्त बगेको विश्वास गरिन्छ । गंगा दशहराको मेलामा खासगरि बझाङ, बाजुरा, डोटी र अछामका मानिसहरु आ–आफ्नो परम्परागत लुगा र गहना लगाएर आउने गर्छन् ।
खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । यहाँ नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीघाट जस्ता पवित्र स्थल छन् । खप्तडको अर्को आकर्षण भनेको खप्तड बाबाको आश्रम हो, जहाँ उनको मूर्ति र उनले प्रयोग गरेका केही सामान छन् । उनले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तकहरु लेखेका थिए । प्राकृतिक रुपमा निकै मनमोहक खप्तडमा भौतिक पूर्वाधार केही नभएकाले खप्तडमा पर्यटकहरुले अस्थायी पाल र टहरामा रात बिताउने गरेका छन् । एकछिनमै घाम लाग्ने, एकछिनमै सिमसिम पानी पर्ने खप्तडमा वर्षामा बादलले रुखहरुलाई ढाक्दा निकै मनमोहक देखिन्छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएपनि भौतिक पूर्वाधार र प्रचार प्रसारको कमीले खप्तडले यथेष्ट महत्व पाएको देखिँदैन ।
वृत्त चित्रको लागी तस्वीर सहयोग, अनुुस श्रेष्ठ।
खप्तड सम्वन्धीको वृतचित्र भिडियोमा हेर्नुहोस्