भीमदत्त पन्तको जन्मथलो प्रवेशद्वार: ६ वर्षदेखि निर्माण अलपत्र, नगरप्रमुखको आश्वासान मात्रै
डडेल्धुरा : एक वर्ष वर्षअघि डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँ जाने मुख्य प्रवेशद्वार निर्माण अलपत्र भएको समाचार विभिन्न अनलाईन तथा पत्रपत्रिकामा प्रकाशित भयो। समाचार प्रकाशित भएपछि अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझासहितको टोली प्रवेशद्वार अवलोकन गर्न त्यहाँ पुग्यो।
त्यहाँ पुगेर नगरप्रमुख ओझाले स्थानीयहरुसँग अमर शहिद भीमदत्त पन्तको जन्मथलो अमरगढी–२ को कारीगाउँदेखि लिएर अमरगढी–२ शहीद भीमदत्त पन्तको जन्मस्थानलाई आदर्श बस्तीका रुपमा घोषणा गरेकाले प्रवेशद्धार निर्माणसंगै छिट्टै अन्य गतिविधि समेत संञ्चालन गरिने बताए।
स्रोत अभावका कारण शहीद भीमदत्तको जन्मथलो कारीगाउँमा निर्माणाधीन प्रवेशद्वार अलपत्र रहेको भन्ने खबर आएकोले यसको लागि नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था मिलाएर यसको बाँकि रहेका काम अगाडि बढ्ने उनले बताए।
तर, अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले प्रवेशद्धार अवलोकन गरेको एक वर्ष भइसक्दा पनि प्रवेशद्धार निर्माण हुन सकेको छैन्। नगर प्रमुख ओझाले आफूले गरेको बाचा पुरा नगरेको भन्दै स्थानीयले आलोचना गर्न थालेका छन्।
शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाउँमा आर्थिक वर्ष २०६९/०७० देखि शहीद भीमदत्त स्मृति प्रतिष्ठानले उक्त प्रवेशद्धार निर्माणको काम सुरु गरेको हो। तर अहिले प्रवेशद्धार निर्माणको काम अलपत्र परेको छ। नेपाल पर्यटन बोर्डको २ लाख, अमरगढी नगरपालिकाको १ लाख सहयोग र शहीद भीमदत्त स्मृति प्रतिष्ठानको ५० हजार गरी जम्मा ३ लाख ५० हजारको लागतमा प्रवेशद्धार निर्माण कार्य सुरु भएको थियो।
उक्त प्रवेशद्धार शहीद भीमदत्त स्मृति प्रतिष्ठानले निर्माण गरिएको हो। आर्थिक स्रोत कहिँकतैबाट नजुटेपछि निर्माण कार्य रोकिएको शहीद भीमदत्त स्मृति प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। ‘हामीले यहाँ प्रवेशद्धार निर्माण गरिरहेका थियौं उनले भने, ‘बीचमा कहिँकतैबाट आर्थिक सहयोग भएन र बिचमै निर्माणको काम रोकियो। आर्थिक अभावका कारणले गर्दा बाँकी निर्माण रोकिएको हो।’
प्रवेशद्वारको माथि भीमदत्तको शालिक बनाउने योजना रहेको भएपनि आर्थिक अभावले गर्दा पूर्णकाम हुन सकेको छैन्। अमरगढी नगरपालिकाले शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाँउलाई आदर्श वस्तीका रुपमा विकास गर्दै जाँदा ६ वर्ष अगाडि सुरु भएको प्रवेशद्धारको निर्माण सक्दो चाँडो हुनुपर्ने स्थानीयको माग छ।
भीमदत्त आर्दशबस्तीका नाममा नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको भएपनि भीमदत्त पन्तकको प्रवेशद्धारको अवस्था ६ वर्षदेखि निर्माणधीन अवस्थामै रहेको स्थानीय डम्मरुदेवी पन्तले बताइन्। स्थानीय तहमा स्थानीय सरकार आइसकेपनि प्रवेशद्धार निर्माणमा कसैले चासो नदिएको उनको भनाई छ। निर्माण सुरुभएको ६ वर्ष बितिसक्दा पनि प्रवेशद्धार निर्माण हुन नसक्नु दुःखद भएको उनको भनाइ छ।
‘भीमदत्तको नामबाट यो बनेको हो। अहिलेसम्म पनि काम अधुरै अवस्थामा छ। यहीँ बाटो भएर यताउता जाने मान्छेले पनि अधुरै काम देख्छन्’ उनले भनिन्, ‘यो समयमै बनिदिएको भए हामीलाई पनि खुशी लाग्थ्यो। आहा ! भीमदत्तको बस्तीमा राम्रो गेट बनेको छ भनेर नाम पनि हुन्थ्यो।’
यसबारे उनलाई सोध्दा उनले गतवर्ष लामो समयदेखि अलपत्र परेका थुपै्र संरचनाहरुको अवलोकन गरेको र ती संरचनाको मर्मतका लागि पहल गरेको बताए। कतिपय योजना अझै अलपत्र परेकाले अलपत्र परेका संरचनाको मर्मतको लागि आवश्यक बजेट प्राप्त गरेको ती संरचनाहरुको निर्माण प्रक्रियामा छिट्टै आगाडी बढ्ने उनको भनाइ छ। नगरप्रमुख ओझाका अनुसार प्रवेशद्धारको काम असार मसान्त सम्ममा सम्पन्न हुन्छ।
वडा कार्यालय भन्छ, ' नगरले चासो दिएन'
शहीद भीमदत्त पन्तको जन्मथलो अमरगढी–२ मा पर्ने भएपनि प्रवेशद्धार निर्माणका लागि पहल गर्नुको साटो वडा कार्यालय मुखदर्शक बनेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। ६ वर्षदेखि प्रवेशद्धार निर्माण नभएको कारण स्थानीयले आक्रोश पोख्नु स्वभाविक भएको अमरगढी–२का वडा अध्यक्ष मनोरथ खडायतले बताए।
अमरगढी नगरपालिकाले शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाँउलाई आदर्श बस्तीका रुपमा विकास गर्ने योजना अगाडी सारेकोले वडाले हस्तक्षेप नगरेको उनले जानकारी दिए।
‘अमरगढी नगरपालिसँग पटक–पटक समन्वय गरेका छौँ। गत वर्ष नि भीमदत्त आदर्श बस्तीका लागि ५ लाख रुपैयाँ छुट्याइएको थियो’ उनले भने, ‘सडक कालोपत्रे र प्रवेशद्धार निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गर्ने नगरप्रमुखसँग छलफल भएको थियो। तर, उहाँहरुले पछि गएर खासै चासो देखाउनु भएन्।’
को थिए भीमदत्त पन्त?
नेपाली किसान आन्दोलनका शहीद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मिएका हुन्। उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक चेतना बढायो। सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए भीमदत्त पन्त।
‘ठालु खान्ना आलु गरिब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए पन्तले। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम पनि हो। ‘जसको जोत, उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए उनले।
किसान योद्धाका रूपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो। वि.सं. २०७२ फागुन १९ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो।