सुदूर नेपाललाई विश्वसँग जोड्दै

२९ वर्षदेखि कुखुराको व्यापारमा कञ्चनपुरका छविलाल

२०७६ फाल्गुन ८, ०५:२४

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर : बिहानीको झिसमिसेमै गाउँगाउँमा साइकल गुडाउँदै स्थानीय जातका कुखरा खोज्दै हिँड्नु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका छविलाल सार्कीको दिनचर्या नै हो। सार्कीलाई स्थानीय बासिन्दाले कुुखुरा व्यापारीका रूपमा चिन्ने गर्दछन्।

कुखुरा व्यापारीको पहिचान बनाउनुभएका उनले यसै व्यवसायबाट जीविका चलाउँदै आएका छन्। सार्की २९ वर्षदेखि स्थानीय जातका कुखराको व्यापारमा संलग्न रहेका छन्। पहिलाजस्तै आजभोलि पनि सार्की साइकल डो¥याउँदै कुखुरा खोज्नमै व्यस्त हुनेगर्दछन्।

घरबासका लागि जग्गा र त्यसमा बनेको कच्ची घर सम्पत्तिका रूपमा रहेका सार्की जीविका चलाउनका लागि कुखुराको व्यापारलाई रोजेको बताउछन्। “स्थानीय जातका कुखुरामात्रै पहिला पाल्ने चलन थियो”, सार्कीले भने, “गाउँगाउँमा सहज र सुपथ मूल्यमा कुखुरा पाइन्थे। हाल विकासे जातका कुखुरा व्यावसायिकरूपमा पाल्न थालिएपछि स्थानीय जातका कुखुरा खोज्न गाह्रो भइसक्यो। एक सयमा दुई जनाले मात्रै स्थानीय जातका कुखरा पाल्ने गरेका छन्।”

दुई÷तीन दिन लगातार गाउँ चहारेपछि चार/पाँच कुखुरा मात्रै पाउन सकिने गरेको उनी बताउछन्। ५० रुपैयाँ प्रतिकिलोका दरले जिउँदो कुखुरा खरिद गरेर बजारमा बेचेको स्मरण गर्दै सार्कीले भने, “त्यसबेला दैनिक २५ देखि ३० किलोसम्म कुखुरा बिक्री गर्न लैजान्थेँ। गाउँमा खरिद गरेको कुखुरा बजारमा लगेर बिक्री गरी परिवारको खर्च सहजै चल्थ्यो। हाल त्यसको आधा मात्रै कुखुरा पाइने गरेका छन्।”

उनका अनुसार अहिले कुखुरा पाउनै मुस्किल छ, पाइहाले पनि थोरै पाइने भएकाले आम्दानी पनि कम छ। “कुखुराको व्यापारले घरपरिवारको खर्च धानिएकै छ । तीन छोरीको विवाह पनि यसै व्यापारको कमाइले गर्न भ्याएको छु। छोरीको विवाह गर्नमै सात लाख बढी खर्च लागेको छ। त्यो सबै कुखुराकै कमाइ त हो नि।”

हाल स्थानीय जातको कुखुराको भाले ५५० र पोथी ४५० प्रतिकिलोका दरले खरिद गरी ५०० देखि ६०० मा उनले बिक्री गर्दै आएका छन् । कुखुरा खरिद गरी बिक्री गरेर आएको केही रकम बचत गरी उनले पक्की घरसमेत बनाउन थालेका छन्। ‘मुर्गावाला’को नामले परिचित सार्की जीविका चलाउने एक मात्रै माध्यमका रूपमा रहेको कुखुराको व्यापार नछाड्ने बताउछन्। गाउँबाट खरिद गरेर ल्याएका कुखुरा भीमदत्तनगर बजारको सब्जीमण्डीमा बिक्री हुने गरेको छ।

वर्षौं पहिले पहाडबाट बसाइँ सारेर तराई झर्दा कमाइने गर्ने साधन थिएन। भारतबाट आएका व्यापारीले मात्रै कुुखुराको व्यापार गर्दथे। भारतीय व्यापारीले कुखुरालगायतको खुद्रे व्यापार गरेर आरामले परिवारको खर्च चलाएको देख्दा यसबाटै प्रेरणा लिँदै सार्कीले कुखुराको व्यापार गर्न शुरु गरेका हु्न्।

बजारमा मजदुरी गरेर कमाएको १०० बाट पहिलोपटक कुखुरा खरिद गरी बजारमा लगेर बिक्री गरी आएको आम्दानी जम्मा गरे। “त्यसपछिको आम्दानी जम्मा गरी पूँजी बनाएँ” सार्कीले भने, “थोरैबाट धेरै कुुखुरा खरिद गर्न थालेपछि आम्दानी पनि बढ्यो। परिवारको खर्च चल्न थाल्यो। त्यसपछि यो नै व्यवसाय बन्यो ।”

“व्यापार सानो ठूलो हुँदैन। मेहनत गरे सानो व्यवसायबाट पनि परिवार सहजरूपमा चल्दोरहेछ। पहाडबाट तराई झर्दा एकसरो लुगामा आएका थियौँ। मेहनत गरेँ  निरन्तररूपमा व्यवसायमा संलग्न रहेकाले कसैसँग पैसाका लागि अहिलेसम्म हात थाप्नुपरेको छैन”, उनले भने।

उनका अनुसार पैसाकै लागि धेरै जना विदेशिने गरेका छन्। स्वदेशमै लगनका साथ काम गरे परिवारसँगै बसेर त्यो भन्दा बढी कमाउन सकिन्छ। त्यसका लागि धैर्य आवश्यक छ। -रासस

कमेन्ट लोड गर्नुस