रेशम चौधरीको रिहाईको माग, धनगढीमा अनशन बस्ने तयारी
थरुहट नेता लक्ष्मण थारू थरुहट क्षेत्रको अधिकारका लागि आमरण अनशनमा बस्ने भएका छन्। बिहीबारदेखि धनगढी क्याम्पस चौकमा आमरण अनशनमा बस्ने पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन्।
थरुहट र थारूवान मोर्चाका केन्द्रीय संयोजकसमेत रहेका थारूले शान्ति र सद्भावको लागि अनशनमा बस्ने बताएका छन्। माघ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले आफ्नो पहिलो माग अन्तर्गत सांसद रेशम चौधरी लगायतको रिहाइ माग राखेको छ।
यस्तै टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नको लागि पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिका प्रतिवेदनहरू सार्वजनिक गर्न माग गरिएको छ।