सुदूर नेपाललाई विश्वसँग जोड्दै

गजल सुनेपछि सुदूरपश्चिमका अर्थमन्त्री बोहरालाई ४२० को झड्का !

२०७६ माघ २८, ०८:१५ भुवन भट्ट

आफ्नै गाउँको बाटो आँफै बिराउने यो सरकारलाई के भन्नु ? 
ठूलो कुरा गर्छस भने जेलमा छिराउने यो सरकारलाई के भन्नु ?
बुझीदेउ नेता ज्यू गरिव दुखीकै कारण कुर्ची पाए भनि
उनै गरिव दुखीलाई नजरबाट गिराउने यो सरकारलाई के भन्नु ? 

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीले आयोजना गरेको २१औँ वार्षिकोत्सव कार्यक्रममा एक विद्यार्थीले माथिको गजल सुनाउँदा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सुदूरपश्चिमका आर्थिक मामीला तथा योजना मन्त्री झपट बोहरालाई छटपटी जस्तै भईरहेको थियो। केही समयपछि मन्त्रीलाई संवोधनका लागि आग्रह गरिएपछि उनले भने, ‘यस्तो चिसो मौसममा पनि भाईको गजल सुन्दा ४ सय २० भोल्टको झड्का नै लाग्यो।’ गलजमा वर्तमान सरकारका गतिविधिमाथि प्रश्न खडा गरिएको थियो। 

मन्त्री बोहराले अगाडी भने, ‘अहिलेको सरकार तिन भाइमा विभाजन भएको छ, जेठो भाई बुवाको प्यारो, कान्छो भाई आमाको तर माईलो छोराको हिसाबकिताबै नहुने। त्यसैमा सरकार भ्रष्टाचारमा लिप्त भएको गजल सुन्दा म झन मारमा पारे।’ 
छात्रले गाएको गजलको जवाफ दिन मञ्चमा गएका मन्त्री बोहरालाई विद्यार्थीले डेउडा खेल्न आग्रह गरे। डेउडाका पारखी मन्त्री बोहराले नकार्न सकेनन् र डेउडा खेल्न थाले। 

छाँया सरकार बन्यो, थला प¥यो काग्रेस पार्टी
अख्तियारले भन्यो, ठुलो माछा जालमा प¥यो।’
कागताली प¥यो, कम्युष्टले सरकार पायो
भ्रष्टाचार बढ्यो, दुईतिहाइको सरकार बन्यो
कस्ले कस्लाई गन्यो, आफ्नो पालो आएपछि
एम्बुलेन्स बन्यो,  थोत्रा ट्रक खरिद गरी

डेउडा मार्फत विद्यार्थीहरुले सरकारलाई वास्तविकता अवगत गराई सचेत तुल्याउन खोजेका थिए। तर मन्त्री बोहरा भने डेउडा नसकीदै मञ्चबाट बाहिरिए। 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस