दार्चुलामा कांग्रेस सचिवद्वारा नेकपा सदस्यमाथि निर्घात कुटपीट
दार्चुला: विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य जयलालसिँह विष्टमाथि नेपाली कांग्रेसका जिल्ला सचिव हरकसिँह विष्टले निर्घात कुटपीट गरेका छन्। सोमबार बेलुकी व्यास गाउँपालिका ४ सुनसेरा डोकटको एक पसलमा विष्टमाथि मरणासन्न हुने गरी निर्घात कुटपीट गरेका हुन्।
कांग्रेस सचिव विष्टको कुटपीटबाट जयलालको टाउँको, आँखा, नाक र अनुहारमा चोट लागेको छ। एक महिनाअघि गाउँकै ब्रह्मस्थान आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षको विषयलाई लिएर कुटपीट भएको पीडितले बताए।
स्थानीयले सहमतिमै विष्टलाई तेस्रो पटक व्यवस्थापन समिति अध्यक्ष बनाएका थिए। नेपाली कांग्रेसले मानसिह विष्टलाई व्यवस्थापन समिति अध्यक्षको उम्मेदवार बनाए पनि स्थानीयले सहमतिमै पुरानै अध्यक्ष जयलाललाई अध्यक्षमा चयन गरेका थिए। ‘स्वयं उम्मेदवारले समेत गाउँको विषयमा राजनीति गर्न नहुने भन्दै आफुलाई अध्यक्षमा सर्वसम्मत स्वीकारेका थिए’ पीडित विष्टले भने।
तर नेपाली काग्रेसका सचिव विष्टले अध्यक्ष पद किन नछोडेको भन्दै आफुमाथि होटलमा आएर एकाएक कुटपीट गरेको बताए। उनको मंगलबार जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि थप उपचारको लागि रिफर गरिएको छ। 'नाक र आँखामा चोट लागेको कारण जिल्लाबाहिर लिन अस्पतालले रिफर गरेको छ' पीडितका आफन्त दिलिप डडालले भने 'भोली थप उपचारको लागि धनगढी लिदैछौ।'
नेपाल प्रहरीका पूर्व हवल्दार समेत रहेका विष्ट गाउँका समाजसेवीको रुपमा चिनिदै आएका छन्। पीडित विष्टले भने ‘गाउँको विद्यालय बनाउनमा आफ्नो योगदानको कारण स्थानीयले हरेक पटक आफुलाई अध्यक्षमा निर्विरोध गर्दै आएका छन।्’
घट्नाबारे नेपाली कांग्रेसका सचिव विष्टसँग सम्पर्क गर्दा उनको मोवाइल अफ छ।
यसैबीच घट्नाको विषलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा दार्चुलाले विज्ञप्ती जारी गर्दै घट्नामा संग्लन काग्रेस सचिव हरक विष्टमाथि कार्वाहि गर्न माग गरेको छ। पसलमा बसेको मान्छेलाई एकाएक कुटपीट गरी ज्यान लिने उद्देश्य रहेको भन्दै घट्नामा संग्लनलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कार्वाहि गर्न माग गरिएको छ। पार्टी अध्यक्ष गणेशसिह खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा घट्नामा जुनसुकै व्यक्ति भएपनि कानुनी दायरामा ल्याउन माग गरिएको छ।
यस्तै अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाल पनि घट्नामा संग्लन कांग्रेस सचिव विष्टलाई कार्वाहि गर्न माग गरेको छ। अखिल जिल्ला संयोजक आनसिह बडाल र सह सहसंयोजक राजेन्द्र डागाद्धारा हस्ताक्षरित विज्ञप्तीमा २१औं सताब्दीमा बैचारिक बहस गर्न नसकेरै भौतिक आकर्मण गर्नु विडम्बना भएको भन्दै कार्वाहि गर्न माग गरेका छन्।
घट्नाको विषयमा नेकपाका नेताहरुले जिल्ला प्रशासन र सुरक्षा प्रमुखहरुलाई समेत जानकारी गराएका छन्। उनीहरुले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई भेटी घट्नामा संग्लन कांग्रेस सचिव विष्टलाई कानुनको दायरामा लिएर अनुसन्धान गर्न माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी पौडेलले दोषीमाथि कानुनबमोजिम कार्वाहि प्रक्रिया अघि बढ्ने बताए।
घट्नामा संग्लन विष्टमाथि पीडित जयलालले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ताको तयारी थालेका छन्।