सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल स्तरोन्नती : एक किलोमिटर क्षेत्र सम्म जग्गा अधिग्रहण गरिने

२०७६ माघ २७, ०७:४० जनक विष्ट

धनगढी विमानस्थल स्तरोन्नतीका लागि साढे चार सयमिटरदेखि एक किलोमिटर क्षेत्र सम्मको जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ। विमानस्थलको स्तर बृद्धि तथा क्षेत्रफल विस्तारका लागि तयार गरिएको गुरु योजना अनुसार अहिले कायम रहेको स्थानदेखि साढे चार सय देखि एक किलोमिटर सम्मको जग्गा अधिग्रहण गरिने भएको छ।

जग्गा अधिग्रहणका गर्न न्युनतम साढे चार सय मिटरदेखि बढिमा एक किलोमिटर सम्मको क्षेत्रफल आवश्यक पर्ने  विमानस्थलको गुरु योजना बनाएको रियल पाथ इन्जिनीयरिङ कन्सल्टेन्सीका कार्यकारी निर्देशक गुरुदत्त अधिकारीले बताए।

भिडियो हेर्न यहाँ क्लीक गर्नुस्

उनका अनुसार अहिले कायम रहेको विमानस्थलको केन्द्रदेखि पूर्व, पश्चिम, उत्तर र दक्षीणतर्फ गरी साढे चार सय मिटरदेखि  एक किलोमिटर क्षेत्रफल सम्मको जग्गा अधिग्रहण गर्नुपर्ने छ। तर अहिले नै विमानस्थलको चारैतर्फ के कती जग्गा अधिग्रहण हुन्छ भन्ने कुराको तथ्याङ्क तयार नभएको अधिकारीले बताए।  

२० वर्षे गुरु योजना अन्तरगत धनगढी विमानस्थल स्तरोन्नतीका लागि हाल कायम रहेको समेत गरी दुई सय ९७ बिघा जग्गा आवश्यक पर्ने प्रस्ताव गरिएको छ। विमानस्थल कार्यालयसंग अहिले ७० बिघा मात्रै रहेकाले थप दुई सय २७ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको छ।

तर विमानस्थलको केन्द्रदेखि के कती क्षेत्र सम्म अधिग्रहण गरिन्छ भन्ने कुरा यकिन नभएपछि अन्यौलता देखिएको छ। उक्त विषय अहिले नै स्पष्ट भएमा आसपासको जग्गामा संरचना नबन्ने विश्वास गरिएपनि नागरिक उड्यन प्राधिकरणले सो कुरा खुलाएको छैन्।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले स्तरोन्नतीका लागि आवश्यक पर्ने थप जग्गा केन्द्रदेखि  पूर्व, पश्चिम र उत्तरतर्फ बढि अधिग्रहण हुने देखिएको बताए। तुलनात्मक रुपमा सबैभन्दा बढि उत्तरतर्फको जग्गा अधिग्रहण हुने उनको भनाई छ।

बुढथापाले अहिले प्रस्तावित जग्गा नै पर्याप्त नभएको सुझाव समेत आएकाले पुर्नविचार पनि हुनसक्ने देखिएको जनाएका छन्।  प्रस्तावीत दुई सय ९७ भन्दा बढि जग्गा आवश्यक पर्ने सुझावहरु प्नि आएकाले पुर्नविचार हुनसक्ने उनी बताउँछन्। तर संघिय सरकारको नेपाल नागरिक उड्यन प्राधिकरणले भने परामर्शदाताले पेश गरेको प्रस्ताव छलफलकै चरणमा रहेको जनाएको छ।

नेपाल नागरिक उड्यन प्राधिकरणबाट धनगढी विमानस्थल हेर्दै आएका प्रदिप अधिकारीले छलफलमा रहेको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भएपछि मात्रै जग्गा अधिग्रहणका लागि चार किल्लाको टुङ्गो लाग्ने बताए। यद्यपी गुरु योजना अनुसार विमानस्थलको उत्तरतर्फ बढि जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको अधिकारीले जानकारी दिए।

शनिबार धनगढीमा सार्वजनिक गरिएको गुरु योजना अनुसार अहिले कायम रहेको १८ सय मिटरको धावनमार्गलाई विस्तार गर्दै दुई हजार पाँच सय ५० मिटर कायम गरिनेछ भने अन्य संरचना समेत निर्माण गरिनेछन्।

विमानस्थलका लागि चाहिने जग्गा अधिग्रहणका लागि मात्र पाँच अर्ब प्रस्ताव गरिएको छ। त्यसका अतिरिक्त अन्य संरचना निर्माणका लागि थप १७ अर्ब समेत गरी २२ अर्ब लगानी प्रस्ताव गरिएको छ।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस