सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री भट्टद्वारा कैलालीको हरैया र डुडेझारी क्षेत्रको अवलोकन

२०७६ माघ २५, १०:५८ खबर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले शनिबार कैलालीको विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्य औद्योगिकस्थलहरूको अध्ययन अवलोकनका क्रममा मन्त्री भट्टसहितको टोलीले शनिबार कैलालीको गोदावरी नगरपालिकामा रहेको हरैयाको विशेष आर्थिक क्षेत्र र लम्किचुहा नगरपालिकास्थित डुँडेझारी औद्योगिक क्षेत्रको अवलोकन गरेको हो।

अवलोकनका क्रममा मन्त्री भट्टले सरकारले चाँडै हरैया विशेष आर्थिक क्षेत्र र डुँडेझारी औद्योगिक क्षेत्रको काम अघि बढाउन बताए। उनले सरकारले सुखी नेपाली र समृद्ध नेपालको अभियान लिएको बताउँदै नेपाली बजारमा अहिले बढिरहेको आयातलाई प्रतिस्थापना गर्न पनि उत्पादनमा जोड दिनुपर्ने बताए।

आफू यसै जिल्लाको भएकाले भौगोलिक वस्तुगत स्थितिको जानकार रहेको बताउँदै उनले मन्त्रालयका कर्मचारीलाई बुझाउन महत्वपूर्ण पदाधिकारीसहित अवलोकनमा आउनुपरेको बताएका छन् १३ महिनाअघि डुँडेझारी औद्योगिक क्षेत्र घोषणाको फाइल तयार भएर मन्त्रिपरिषद्मा गएको उनले जानकारी दिएका छन्। गोदावरी नगरपालिकामा रहेको हरैया विशेष आर्थिक क्षेत्र नौ सय बिघा क्षेत्रफलमा फैलिएको छ भने डुँडेझाडी औद्योगिक क्षेत्र एक हजार एक सय बिघामा फौलिएको बताइएको छ। रासस
 

कमेन्ट लोड गर्नुस